Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

साउनमा एफडीआई प्रतिबद्धता घट्यो, १९१ परियोजनामा ३.७७ अर्ब प्रतिबद्धता

साउनमा एफडीआई प्रतिबद्धता घट्यो, १९१ परियोजनामा ३.७७ अर्ब प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग विभागको तथ्यांकअनुसार साउनमा १९१ वटा उद्योग तथा परियोजनाका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो। गत वर्षको तुलनामा चालु आवको पहिलो महिनामा लगानी प्रतिबद्धता करिब ८४ प्रतिशतले घटेको देखिन्छ।

गत वर्ष साउनमा १२७ वटा उद्योग तथा परियोजनामार्फत उक्त लगानी प्रतिबद्धता आएको थियो। त्यसमध्ये चीनमा भैंसीको मासु निर्यात गर्ने उद्देश्यले प्रस्तावित ‘प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री’ परियोजनाका लागि मात्रै २० अर्ब ४५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो। एउटै ठूलो परियोजनाका कारण गत वर्षको साउनमा कुल प्रतिबद्धता रकम उच्च देखिएको थियो।

चालु आवको साउनमा भने त्यस्तो ठूलो आकारको लगानी प्रतिबद्धता आएको छैन। विभागका अनुसार मध्यमस्तरका दुई उद्योगसहित मुख्यतः साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ। यस वर्ष स्वचालित (अटोमेटिक) रुटबाट आउने लगानी प्रतिबद्धताको हिस्सा पनि बढेको छ। सरकारले स्वचालित रुटबाट स्वीकृत हुने विदेशी लगानीको माथिल्लो सीमा हटाएपछि यस माध्यमबाट लगानी स्वीकृत हुने क्रम बढेको हो।

आईटीमा उद्योगको संख्या धेरै, पर्यटनमा लगानी बढी

साउनमा संख्याका आधारमा सबैभन्दा धेरै विदेशी लगानी सूचना प्रविधि (आईटी) क्षेत्रमा आएको छ। यस अवधिमा आईटीसँग सम्बन्धित १२८ वटा उद्योग दर्ता भएका छन्। ती उद्योगका लागि ५६ करोड ९८ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ। उद्योग संख्याका आधारमा पर्यटन क्षेत्र दोस्रो स्थानमा छ। साउनमा पर्यटनतर्फ ३३ वटा उद्योग दर्ता भएका छन्। यी उद्योगमा १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै, सेवामूलक क्षेत्रमा १९ वटा उद्योग दर्ता भएका छन्। ती उद्योगमा ६८ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। उत्पादनमूलक उद्योगतर्फ नौवटा परियोजना दर्ता भएका छन्। यी परियोजनाका लागि ८४ करोड ३२ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। कृषि र ऊर्जातर्फ भने एक–एक वटा उद्योग दर्ता भएका छन्। दुवै क्षेत्रमा समान २ करोड रुपैयाँका दरले विदेशी लगानी प्रतिबद्धता आएको छ।

यसरी हेर्दा परियोजनाको संख्याका आधारमा सूचना प्रविधि क्षेत्र अगाडि रहे पनि लगानी रकमका आधारमा पर्यटन क्षेत्र सबैभन्दा अगाडि देखिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit