काठमाडौं । पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा स्थापित हुँदै आएको रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यससम्बन्धी दुई पक्षीय सम्झौता भाद्र २ गते सम्पन्न भएको हो। सम्झौतासँगै रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनको चरणसम्म पुर्याउन आवश्यक परामर्श तथा पूँजी बजारसम्बन्धी सेवा एनआईसी एशिया क्यापिटलले उपलब्ध गराउनेछ।
एनआईसी एशिया क्यापिटलले सञ्चालन गर्दै आएको ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनीको स्थापना कालदेखि सार्वजनिक शेयर निष्कासनसम्म आवश्यक पर्ने विभिन्न परामर्श तथा सहजीकरण सेवा प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीका अनुसार प्रचलित कानुनबमोजिम रुपाकोट रिसोर्टलाई भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न आवश्यक सम्पूर्ण प्रक्रिया, परामर्श तथा सेवा उपलब्ध गराउने गरी सम्झौता गरिएको हो।
पर्यटन क्षेत्रको कम्पनी पूँजी बजारमा आउने तयारीमा
कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कारोबार कार्यालय रहेको रुपाकोट रिसोर्ट पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
रुपाकोट क्षेत्रबाट हिमाली शृंखलाका साथै रुपा र बेगनास तालको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले रिसोर्टले प्राकृतिक सौन्दर्य र उच्चस्तरीय आतिथ्य सेवालाई आफ्नो प्रमुख आकर्षणका रूपमा अघि बढाउँदै आएको छ।
रिसोर्टले आवास, भोजन तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारसहित सेवा विस्तार गरिरहेको जनाएको छ। पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्टलाई उपयुक्त गन्तव्यका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ।
आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीच सन्तुलन कायम गर्दै पर्यटन अनुभव प्रदान गर्ने उद्देश्यले रिसोर्टले आफ्नो सेवा विस्तार गर्दै आएको छ।
‘आईडिया टु आईपीओ’ मार्फत कम्पनीलाई सहजीकरण
एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवामार्फत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नेदेखि साधारण शेयर निष्कासनसम्म आवश्यक परामर्श तथा सहजीकरण गर्दै आएको जनाएको छ।
यस सेवामार्फत कम्पनी स्थापना, संरचना तथा कानुनी प्रक्रियादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक परामर्श उपलब्ध गराउने क्यापिटलको भनाइ छ।
यस्तो सेवा लिन इच्छुक कम्पनीले एनआईसी एशिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने जनाइएको छ।
















प्रतिक्रिया दिनुहोस्