काठमाडौं । निजी क्षेत्रको लगानीमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ ।
ऊर्जा उद्यमी सुसन कर्माचार्यको नेतृत्वमा एससी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुट्ने निश्चित भएको हो ।आयोजनाको वित्तीय व्यवस्थापन एनएमबी बैंकको अगुवाइमा भएको हो। सह–अगुवा बैंकका रूपमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालयन बैंक सहभागी छन्। यसबाहेक नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), कृषि विकास बैंक, एनआईसी एसिया बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र आईसीएफसी फाइनान्सले पनि ऋण लगानी गर्ने भएका छन् ।
वित्तीय व्यवस्थापनअन्तर्गत एनएमबी बैंकले १० अर्ब रुपैयाँ, ग्लोबल आइएमई, प्रभु र हिमालयन बैंकले ७–७ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । यसैगरी, नबिल बैंकले ३ अर्ब, निफ्राले २ अर्ब तथा कृषि विकास र मुक्तिनाथ विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँका दरले लगानी गर्नेछन् । त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ५० करोड, सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब २५ करोड, ज्योति विकास बैंक र एनआईसी एसिया बैंकले १–१ अर्ब तथा आईसीएफसी फाइनान्सले ८० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । हाल उक्त रकममध्ये ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइने भएको हो। बाँकी रकम प्रवर्द्धकको स्वपुँजीबाट व्यवस्थापन गरिनेछ । तिला–१ को जडित क्षमता ४४० मेगावाट भए पनि हाल नेपाल विद्युत् प्राधिकरणसँग २९८।७५ मेगावाटका लागि मात्र विद्युत् खरिद सम्झौता ९पीपीए० भएको छ । त्यसैले अहिले सोही क्षमताका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिएको हो । आयोजनाका बाँध, सुरुङलगायत अधिकांश पूर्वाधार भने भविष्यमा ४४० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्न सकिने गरी निर्माण गरिनेछ ।
आयोजनाको सम्पूर्ण ४४० मेगावाट क्षमता विकास गर्दा लागत करिब ७० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यस्तो अवस्थामा प्रवर्द्धकहरूले १४ अर्ब रुपैयाँभन्दा बढी स्वपुँजी लगानी गर्ने र बाँकी रकम ऋणबाट जुटाउने योजना रहेको छ । विद्युत् विकास विभागले तिला–१ का लागि २०७५ भदौ ८ गते उत्पादन अनुमतिपत्र जारी गरेको थियो । विद्युत् खरिद सम्झौताअनुसार आयोजनाले २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्नुपर्नेछ । वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको तिला–१ जडित क्षमताका आधारमा हालसम्मकै ठूलो जलविद्युत आयोजना भएको प्रवर्द्धकको दाबी छ ।
आयोजनामा लगानी गर्दा वातावरणीय तथा सामाजिक पक्षलाई समेत प्राथमिकता दिइएको एनएमबी बैंकले जनाएको छ। बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको जनाएको छ ।
एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ । तिला–१ को वित्तीय व्यवस्थापन हुनुभन्दा एक दिनअघि मात्रै कालीकोटकै ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाको समेत वित्तीय व्यवस्थापन सम्पन्न भएको थियो ।
















प्रतिक्रिया दिनुहोस्