काठमाडौं। श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद संग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रतिको अविश्वासको संकेत भएको बताइन् ।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै देशको अर्थतन्त्र बुझ्न नसकेको टिप्पणी गरिन्। अर्थमन्त्रीले ल्याएको बजेटको कमजोरी पहिलो महिना सकिँदैमा देखिन थालेको उनको भनाइ थियो । ‘अर्थमन्त्रीज्यूले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ । तर, उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन,’ सांसद संग्रौलाले भनिन्,‘ उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो।’
संग्रौलाले वर्तमान सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबीसमेत गरिन्। अर्थतन्त्रमा समस्या देखिए पनि सरकारले त्यसको समाधानमा पर्याप्त ध्यान नदिएको उनको आरोप थियो ।‘बैंकिङ प्रणालीमा यति धेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन ? के व्यवसायीहरूलाई दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ?’ उनले प्रश्न गरिन् ।
अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास सम्भव नहुने बताउँदै उनले सरकारको आर्थिक नीतिमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याइन्। अर्थतन्त्र समस्यामा रहेका बेला अर्थमन्त्री भने ‘चिठ्ठा खेलाउनमा व्यस्त’ रहेको भन्दै उनले व्यंग्यसमेत गरेकी छन् । उनले भनिन्, ‘रास्वपा सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ। तर, अर्थमन्त्रीज्यू चाहिँ चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ।’
















प्रतिक्रिया दिनुहोस्