काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणप्रति प्रश्न उठाउँदै संसद्मा जवाफ दिन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राईले प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न नमिल्ने तर्क गरे । प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत परिचालित हुने भएकाले भ्रमणबारे संसद् र मन्त्रिपरिषद्लाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन। उहाँसँग सरकारी सुरक्षा संयन्त्र स्वतः सक्रिय भएर जान्छ। मन्त्रिपरिषद् र संसद्लाई सूचना नदिई जानुभएको छ भने के खान जानुभएको हो ? के चाख्न जानुभएको हो ? त्यसको जवाफ सदनमा दिनुपर्छ,’ उनले भने ।
सांसद राईले विपद्का कारण मुलुक प्रभावित भइरहेका बेला सुनसरीको बराहक्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराए । कोशी ब्यारेजका ढोकाको व्यवस्थापनमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको माग थियो । उनले कोशी नदीको कटान र बाढीका कारण वर्षेनी खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको भन्दै दीर्घकालीन समाधान खोज्न आग्रह गरे ।
त्यस्तै, राईले नाबालिकामाथि हुने बलात्कार तथा हत्याका घटनामा कडा कानुनी कारबाही हुनुपर्ने बताए । कानुनको कमजोरीको फाइदा उठाउँदै अपराधीहरू खुलेआम हिँड्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । बलात्कारसम्बन्धी कानुनी व्यवस्था स्पष्ट बनाउँदै दोषी प्रमाणित भएकालाई कडा तथा निर्मम सजाय दिनुपर्ने मागसमेत उनले संसद्मार्फत सरकारसमक्ष राखे ।
















प्रतिक्रिया दिनुहोस्