काठमाडौं । एसएआईसी म्याक्सस चीनको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग गरेको छ।
म्याक्सस नेपालले प्रत्यक्ष आर्थिक सहयोगसँगै विपद् प्रभावित समुदायका लागि दिगो तथा स्वच्छ खानेपानीको व्यवस्था र आवश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ।
यसअन्तर्गत म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकमको चेक केही दिनअघि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। त्यस्तै, त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी करिब ३० लाख रुपैयाँ बराबरको राहत तथा खानेपानीसम्बन्धी सहयोग गरिएको हो।
म्याक्सस नेपालले नुवाकोटका दुईवटा अस्थायी आश्रयस्थलमा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरेको छ। त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालयमा जडान गरिएको प्रणालीबाट हाल अस्थायी रूपमा आश्रय लिइरहेका करिब ३०० परिवार लाभान्वित हुनेछन्। त्यस्तै, विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएको अर्को प्रणालीबाट करिब २०० परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुनेछ।
प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ। यसबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई त्यहाँ रहँदासम्म सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग पुग्नेछ। विद्यालय सञ्चालनमा आएपछि भने उक्त प्रणालीबाट विद्यार्थी तथा विद्यालय समुदायसमेत लाभान्वित हुनेछन्।
राहत सहयोगअन्तर्गत करिब ४०० जनालाई आवश्यक सामग्री वितरण गरिएको थियो। वितरण गरिएका सामग्रीमा सुत्नका लागि आवश्यक डसना, सिरानी र तन्ना, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न तथा तरकारी, खाना पकाउने सामग्री र भाँडाकुँडा, पुरुष, महिला तथा बालबालिकाका लागि कपडालगायतका अत्यावश्यक सामग्री रहेका छन्।
राहत वितरण तथा पानी शुद्धीकरण प्रणाली जडान कार्यमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापालगायत कर्मचारी तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका प्रमुख गभर्नर रामराजा थापालगायत डिस्ट्रिक्टका पदाधिकारीको प्रत्यक्ष सहभागिता रहेको थियो।
म्याक्सस नेपालले उक्त राहत तथा पुनःस्थापना सहयोग आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत गरिएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्