काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा रहेको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबारस्थित केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि छलफलपछि सभाले चुक्ता पुँजीको २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
साधारणसभाले नयाँ आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ। यसैगरी, कम्पनीका नवनियुक्त सञ्चालकहरूको नियुक्ति पनि अनुमोदन गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आरविवि म्युचुअल फन्ड–१ ले २.७५ प्रतिशत र आरविवि म्युचुअल फन्ड–२ ले ६ प्रतिशत नगद लाभांश वितरण गरेका छन्। सोही अवधिमा आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।















प्रतिक्रिया दिनुहोस्