Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

इरान युद्ध, महँगी र भ्रष्टाचारको मुद्दा उठाउँदै ट्रम्पको नीतिविरुद्ध ओबामा चुनावी मैदानमा

इरान युद्ध, महँगी र भ्रष्टाचारको मुद्दा उठाउँदै ट्रम्पको नीतिविरुद्ध ओबामा चुनावी मैदानमा
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गर्दै चुनावी अभियानमा सक्रिय भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ओबामा डेमोक्र्याटिक पार्टीका उम्मेदवारको पक्षमा मतदातालाई आकर्षित गर्न मैदानमा उत्रिएका हुन् । उनले ट्रम्प प्रशासनमाथि महँगी बढाएको, भ्रष्टाचारलाई प्रश्रय दिएको र राष्ट्रिय प्राथमिकताबाट विचलित भएको आरोप लगाएका छन् ।

ओबामाले शनिबार ओहायो र मिसिगनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्प प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। ओहायोको क्लिभल्यान्डमा आयोजित सभामा उनले गभर्नर पदका डेमोक्र्याटिक उम्मेदवार एमी एक्टन र सिनेटका उम्मेदवार शेरोड ब्राउनलाई समर्थन गरेका थिए । त्यसपछि उनी मिसिगन पुगेर सिनेटका उम्मेदवार अब्दुल एल–सयदको पक्षमा प्रचारमा सहभागी भएका थिए ।

ओबामाले ट्रम्प प्रशासनका नीतिका कारण सर्वसाधारणको जीवनयापन महँगो भएको दाबी गरे । विशेषगरी इरानसँगको युद्ध र व्यापार नीतिलाई लक्षित गर्दै उनले सरकारका निर्णयले इन्धनलगायत दैनिक उपभोगका वस्तुको मूल्यमा दबाब सिर्जना गरेको बताएका छन् । उनले इरानसँगको युद्धलाई अनावश्यक निर्णयका रूपमा व्याख्या गर्दै त्यसले अमेरिकी जनताको आर्थिक अवस्थालाई थप कठिन बनाएको उल्लेख गरे। ओबामाका अनुसार युद्धका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढेको छ र रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य हुँदै हुने तेलको ढुवानीसमेत प्रभावित हुने जोखिम बढेको छ ।

चुनावी सभामा ओबामाले ट्रम्प र उनीसँग निकट सम्बन्ध भएका व्यक्तिहरूको आर्थिक गतिविधिमाथि पनि प्रश्न उठाए। उनले राष्ट्रपतिको पदलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्न नहुने उल्लेख गर्दै प्रशासनमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याए । ट्रम्प परिवारको क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसाय, व्यक्तिगत व्यावसायिक स्वार्थ र सरकारी निर्णयबीचको सम्बन्धलाई लिएर अमेरिकी राजनीतिमा विवाद हुँदै आएको छ। ओबामाले यस्ता विषयलाई चुनावी बहसको केन्द्रमा राख्दै मतदातालाई सरकारको कामकारबाहीबारे प्रश्न गर्न आग्रह गरेका छन् ।

उनले ट्रम्प प्रशासनको प्राथमिकतामाथि व्यङ्ग्य गर्दै सरकारको ध्यान जनताको आर्थिक समस्या र सार्वजनिक सेवामा केन्द्रित हुनुपर्नेमा प्रशासन अन्य विषयमा बढी व्यस्त देखिएको बताए। रक्षा मन्त्रालयका अधिकारीहरूको कार्यशैलीमाथि टिप्पणी गर्दै ओबामाले सेनाको वास्तविक क्षमता र राष्ट्रिय सुरक्षाभन्दा बाहिरी व्यक्तित्व तथा शारीरिक बनावटजस्ता विषयलाई प्राथमिकता दिइएको आरोपसमेत लगाए ।

मध्यावधि निर्वाचन सरकारको कामको मूल्याङ्कन गर्ने अवसर

ओबामाले आगामी निर्वाचनलाई ट्रम्प प्रशासनका नीतिमाथि नियन्त्रण कायम गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्। अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको प्रभाव रहेकाले डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमा आफ्नो उपस्थिति बलियो बनाउन सके राष्ट्रपतिको कार्यसूचीमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ। ओबामाको चुनावी सक्रियतालाई डेमोक्र्याटिक पार्टीका उम्मेदवारका पक्षमा समर्थक परिचालन गर्ने रणनीतिका रूपमा हेरिएको छ । उनी पार्टीका लोकप्रिय नेतामध्ये एक भएकाले उनको सहभागिताले प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा मतदाता आकर्षित गर्न सहयोग पुग्ने डेमोक्र्याटहरूको अपेक्षा छ ।

ओबामाले ओहायोमा रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीको चुनावी विज्ञापनलाई लिएर आक्रोश व्यक्त गरे। उक्त विज्ञापनमा ओहायोकी पूर्वस्वास्थ्य निर्देशक एमी एक्टनकी आमालाई देखाइएको थियो। कोभिड महामारीका बेला स्वास्थ्य निर्देशक रहेकी एक्टनले बाल्यकालमा भोगेको दुर्व्यवहार र घरबारविहीन हुनुपरेको अनुभव सार्वजनिक गरेकी थिइन्। उनकी आमाले एक्टनलाई झुटो बोलेको आरोप लगाएकी थिइन् भने छोरीको मानसिक स्वास्थ्यबारे पनि प्रश्न उठाएकी थिइन्।ओबामाले यस्तो विज्ञापनलाई राजनीतिक प्रतिस्पर्धामा नैतिक सीमा उल्लंघन गरिएको उदाहरणका रूपमा उल्लेख गर्दै ट्रम्पलाई लक्ष्यित गर्दै भने ‘उनले पार नगर्ने कुनै हद छैन, झर्न नसक्ने कुनै तल्लो स्तर छैन।’

ओहायोमा सिनेटका उम्मेदवार शेरोड ब्राउन रिपब्लिकन उम्मेदवार जोन हस्टेडसँग प्रतिस्पर्धामा छन् भने गभर्नर पदमा एमी एक्टन र विवेक रामास्वामीबीच प्रतिस्पर्धा हुँदै छ। मिसिगनमा सिनेटका उम्मेदवार अब्दुल एल–सयदले रिपब्लिकन उम्मेदवार माइक रोजर्सको सामना गर्दै छन् । यी प्रतिस्पर्धाले अमेरिकी संसद्मा आगामी शक्ति सन्तुलन निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ । यद्यपी, ओबामाको आलोचनापछि ट्रम्पले पनि राजनीतिक सभामार्फत प्रतिवाद गरेका छन्। उनले ओबामा र पूर्वराष्ट्रपति बिल क्लिन्टनजस्ता नेताहरूको आलोचनालाई आफ्नो राजनीतिक सफलताप्रतिको प्रतिक्रियाका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले भन्सार शुल्कसम्बन्धी नीतिले अमेरिकी उत्पादन र उद्योगलाई प्रोत्साहन दिएको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक तथा सुरक्षा नीतिको बचाउ गरेका छन् । इरानसम्बन्धी सैन्य कारबाहीलाई पनि उनले अमेरिकी राष्ट्रिय हितसँग जोडेर व्याख्या गर्दै आएका छन् ।

यसरी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अमेरिका महँगी, विदेश नीति, सरकारी पारदर्शिता र राष्ट्रपतिको अधिकारको प्रयोगजस्ता विषयमा राजनीतिक रूपमा विभाजित देखिएको छ। डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनको आलोचनालाई चुनावी मुद्दा बनाइरहेको छ भने रिपब्लिकन पार्टीले आफ्ना नीतिले अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षालाई बलियो बनाएको दाबी गरिरहेको छ । नोभेम्बर ३ को निर्वाचनले अमेरिकी संसद्मा कुन दलको प्रभाव बलियो हुन्छ भन्ने मात्र होइन, ट्रम्प प्रशासनका आगामी नीतिहरू कार्यान्वयन गर्ने क्षमतामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। द वाल स्ट्रिट जर्नल

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit