काठमाडौं। हिमालय नेपाल कृषि कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको छ ।
सभामा कम्पनीकी अध्यक्ष प्रा.डा. चण्डिका पण्डितले निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसानकेन्द्रित प्रणालीमा रूपान्तरण गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताइन् । प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले कम्पनीको वित्तीय अवस्था, हालसम्मको प्रगति, चुनौती र आगामी योजनाबारे जानकारी दिँदै आर्थिक वर्ष २०८३/८४ मा १८ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य प्रस्तुत गरे। कम्पनीले कृषि उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा निर्यातलाई एकीकृत गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व बढाउने रणनीति अघि सारेको छ।
कम्पनीका अनुसार हाल गैरचालु सम्पत्ति चार करोड ८६ लाख रुपैयाँ र चालु सम्पत्ति पाँच करोड ३१ लाख रुपैयाँ गरी कुल सम्पत्ति १० करोड १७ लाख रुपैयाँ पुगेको छ। कम्पनीले सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्यसमेत राखेको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिंगास्थित कृषि परियोजनालाई विस्तार गर्दै कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गर्ने योजना कम्पनीले अघि सारेको जनाएको छ। सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनलाई भने वित्तीय अवस्था, संस्थागत सुशासन र नियामकीय योग्यताका आधारमा अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।















प्रतिक्रिया दिनुहोस्