काठमाडाैं । गंगा खतिवडा कुँवर नेपालको उद्यमशील क्षेत्रमा सक्रिय महिला व्यवसायी हुन्। उनै गंगा खतिवडा कुँवर नेतृत्वमा एनके कस्मेष्टिक प्रा.लि ओरा, हिमालयन फूड लगायतका व्यवसाय तथा ब्रान्डहरू सञ्चालनमा छन्। लामो समय दक्षिण कोरियामा रहेर त्यहाँको व्यवसायिक वातावरण, प्रविधि र बजारलाई नजिकबाट बुझेकी खतिवडा कुँवरले नेपाल फर्किएपछि कोरियन प्रविधि र सामग्रीमा आधारित कस्मेटिक्स उत्पादनलाई नेपालमै अघि बढाएकी छन्।
उनको व्यवसायिक यात्रा कस्मेटिक्समा मात्र सीमित छैन। खाद्य उद्योगअन्तर्गत कोरियन स्वादमा आधारित उत्पादनको सम्भावना खोज्दै उनले चाउचाउ उत्पादनतर्फ पनि पाइला अघि बढाएकी छन्। व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय गंगा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा महिला सहकोषाध्यक्षको भूमिकामा समेत आबद्ध छिन्।
नेपालमा उद्योग सञ्चालन गर्दा भोगेका प्रशासनिक तथा नीतिगत चुनौती, स्वदेशमै उत्पादन बढाउनुपर्ने आवश्यकता, ब्रान्ड निर्माणको संघर्ष र आगामी व्यावसायिक योजनाबारे गंगा खतिवडा कुँवरसँग कर्पोरेट यात्राका म्यागेजिनका लागि गरिएको कुराकानी :
कोरियाबाट सिकेको प्रविधि नेपालमा भित्र्याउँदै व्यवसाय विस्तार गरिरहनुभएको छ। व्यवसायमा आउने सोच कसरी आयो, अलिकति पृष्ठभूमि सहित बताईदिनुस् न?
मेरो परिवारकै पृष्ठभूमि व्यवसायसँग जोडिएको थियो। मेरो बुबा पनि व्यवसायमा हुनुहुन्थ्यो। त्यसैले सानैदेखि व्यवसायलाई नजिकबाट हेर्दै र बुझ्दै आएँ। ठूलो भएपछि जागिर खाएर मात्र केही गर्छु भन्ने सोचभन्दा पनि आफैंले व्यवसाय गर्नुपर्छ भन्ने धारणा सुरुदेखि नै थियो।
पढाइको सिलसिलामा कम उमेरमै दक्षिण कोरिया पुगे । त्यहाँ पुगेपछि नयाँ देश, नयाँ वातावरण र नयाँ अवसरहरूलाई बुझ्ने मौका पाएँ। सुरुमा कोरियामै बसेर केही गर्ने सोच भए पनि समयसँगै विभिन्न क्षेत्रलाई नियाल्ने र सिक्ने अवसर प्राप्त भयो। तर आफ्नो देशका लागि पनि केही गर्नुपर्छ भन्ने भावना सधैं रहिरह्यो। हामी युवाले नगरे कसले गर्ने भन्ने सोचले अन्ततः नेपालमै फर्किएर केही गर्ने निर्णयमा पु¥यायो।

दक्षिण कोरियामा तपाईको व्यवसायिक अनुभव कस्तो रह्यो? नेपालमा कस्मेटिक्स उद्योग सुरु गर्ने आधार त्यहीबाट तयार भएको हो? रहेको जानकरी रहेको छ ।
कोरियामा सुरुवातमा पढाइसँगै विभिन्न काम गरियो। त्यहाँ रेस्टुरेन्ट व्यवसायमा पनि काम गर्ने अवसर मिल्यो। त्यही क्रममा विभिन्न नेपाली तथा कोरियाली समुदायसँग सम्पर्क बढ्यो।
कस्मेटिक्स क्षेत्रमा मेरो व्यक्तिगत रुचि पनि थियो। कोरियामा काम गर्ने क्रममा यस क्षेत्रसँग सम्बन्धित दिदीहरू, सिनियरहरू र व्यवसायीहरूसँग भेटघाट भयो। उहाँहरूबाट कस्मेटिक्सको उत्पादन, प्रविधि र बजारका बारेमा धेरै कुरा सिक्ने अवसर पाएँ।

कोरियामा मेरो कस्मेटिक्स व्यवसाय थिएन, तर त्यहाँको प्रविधि र उत्पादन प्रणालीलाई नजिकबाट बुझ्ने अवसर मिल्यो। विश्व बजारमा कोरियन कस्मेटिक्सको माग र प्रभाव बढिरहेको देखेपछि मैले आफूले सिकेको प्रविधि नेपालमा किन प्रयोग नगर्ने भन्ने सोच विकास भयो। अनि फर्किएर आफ्नै व्यवसायमा रम्न थाले ।
नेपालमा कस्मेटिक्स व्यवसाय सुरु गर्नुभएको कति भयो? इच्ब् ब्रान्डको सुरुवात कसरी भयो?
हाम्रो अनुसन्धान र तयारी सुरु भएको करिब चार–पाँच वर्ष भयो। मेसिन ल्याउनेदेखि ब्रान्ड दर्ता र अन्य प्रशासनिक प्रक्रियासम्म विभिन्न चरण पार गर्नुप¥यो। नेपालमा उद्योग सुरु गर्नु भनेको सोचे जस्तो तत्काल सम्भव हुने विषय रहेनछ। विभिन्न प्रक्रियाका कारण समय लाग्यो। अन्ततः यही वर्षको फेब्रुअरीदेखि हाम्रो ओरा ब्रान्डको औपचारिक लन्चिङ भएको हो। लामो तयारीपछि आफ्नै देशमा उत्पादन सुरु गर्न पाउँदा खुसी लागेको छ।
ओरालाई नेपाली बजारमा ल्याउनुको मूल उद्देश्य के हो?
ओरालाई पूर्ण रूपमा कोरियन प्रविधिमा आधारित ब्रान्ड हो। हाम्रो उत्पादनमा प्रयोग हुने सामग्री कोरियाबाट ल्याइन्छ, मेसिन पनि कोरियाबाटै आएको हो र हाम्रो केमिस्ट तथा प्राविधिक पक्षमा संलग्न पार्टनर पनि कोरियाली हुनुहुन्छ। नेपालमा भने उत्पादन र म्यानुफ्याक्चरिङ हुन्छ।
मैले कोरियामा एउटा कुरा महसुस गरें । राम्रो गुणस्तरको कस्मेटिक्स त्यहाँको तुलनामा नेपालमा धेरै महँगो पर्न सक्छ। विदेशबाट आउने उत्पादनमा कर तथा अन्य लागत जोडिँदा उपभोक्तासम्म पुग्दा मूल्य धेरै बढ्ने अवस्था छ।
राम्रो उत्पादन प्रयोग गर्ने चाहना सबैको हुन्छ, तर मूल्यका कारण सबैको पहुँचमा नपुग्न सक्छ। त्यसैले कोरियन प्रविधि र गुणस्तरलाई नेपालमै उत्पादन गरेर तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा उपभोक्तासम्म पु¥याउने हाम्रो उद्देश्य हो।
कस्मेटिक्ससँगै खाद्य उद्योगमा पनि प्रवेश गर्नुभएको छ। चाउचाउ उत्पादनतर्फ कसरी आकर्षित हुनुभयो?
हाम्रो ट्रेडिङ कम्पनीमार्फत विभिन्न कोरियन उत्पादन नेपालमा ल्याउँदै आएका थियौं। त्यस क्रममा उपभोक्ताको रुचि र बजारको सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो।
रेस्टुरेन्ट व्यवसायसँग जोडिँदा कोरियन समुदायसँग पनि हाम्रो राम्रो सम्पर्क बन्यो। नेपालमा कोरियन स्वाद र रामेनप्रतिको रुचि बढिरहेको देखियो। त्यसैले आयात गरेर मात्र बिक्री गर्नुभन्दा नेपालमै उत्पादन गर्न सके उपभोक्तालाई केही सहज मूल्यमा उपलब्ध गराउन सकिन्छ भन्ने सोच आयो।
अहिले हामीले कोरियन शैलीको स्पाइसी नुडल्स उत्पादन सुरु गरेका छौं। हाम्रो चाउचाउ उत्पादन कारखाना भैरहवामा छ। आगामी दिनमा रामेन तथा चाउचाउका विभिन्न भेराइटी उत्पादन गर्ने सोच छ।
यी उद्योगमा कति लगानी भएको छ भन्न मिल्छ?
ठ्याक्कै रकम अहिले सार्वजनिक गर्न चाहन्नँ, किनकि लगानी अझै बढ्न सक्ने अवस्था छ। एउटा मेसिन राखेर उद्योग सञ्चालन गर्दा मेसिन, पूर्वाधार, कच्चा पदार्थ, जनशक्ति र अन्य धेरै पक्षमा लगानी गर्नुपर्छ।
हाम्रो मुख्य उद्देश्य नाफा कमाउने मात्र होइन। विदेशमा बसेका नेपालीहरूले आफ्नो देशमा केही लगानी गरौं, रोजगारी सिर्जना गरौं र देशको अर्थतन्त्रमा थोरै भए पनि योगदान गरौं भन्ने सोचका साथ नेपाल फर्केर उद्योग सञ्चालन गरिरहेका छौं।
तपाई एनआरएनमा पनि आवद्ध हुनुहुन्छ विदेशमा बसेर नेपालमा लगानी गर्ने वातावरणलाई तपाईंले कसरी हेर्नुभएको छ?
बााहिर बस्ने नेपालीको शरीर विदेशमा भए पनि मन नेपालमै हुन्छ। विदेशमा कुनै राम्रो प्रविधि वा विकास देख्दा ‘हाम्रो देशमा पनि यस्तो कहिले हुन्छ?’ भन्ने सोच आउँछ। आफूले सिकेको कुरा आफ्नै देशमा प्रयोग गर्न पाए हुन्थ्यो भन्ने चाहना हुन्छ।
त्यसैले विदेशमा बसेका नेपालीलाई नेपालमा लगानी गर्न आकर्षित गर्न सहज वातावरण आवश्यक छ। मैले पनि एनआरएनएमा आबद्ध भएर यस विषयलाई नजिकबाट अनुभव गर्ने अवसर पाएकी छु। अहिले म एनआरएनए आईसीसीको महिला सहकोषाध्यक्षको भूमिकामा पनि छु।
एनआरएनएमा रहेर नेपालमा लगानी र सामाजिक सेवाका क्षेत्रमा कस्तो भूमिका निर्वाह गरिरहनुभएको छ?
एनआरएनएले लगानीसँगै विपद्का समयमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। बाढी, भूकम्प वा कोभिडजस्ता संकटका समयमा बाहिर रहेका नेपालीहरू अझ बढी चिन्तित हुन्छन्। प्रत्यक्ष रूपमा देशमा नभए पनि आफ्नो देशका लागि केही गरौं भन्ने भावना हुन्छ।
हालै रसुवा भोटेकोशीको बाढीका क्रममा पनि एनआरएनएले राहतका लागि अभियान सञ्चालन ग¥यो। करिब पाँच करोड रुपैयाँ सहयोग जुटाउने लक्ष्य राखिएकोमा त्यसभन्दा बढी रकम संकलन भयो। त्यसमध्ये एक करोड रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत हस्तान्तरण गरिसकेका छौं।
त्यसका साथै मेडिकल टिम, स्वयंसेवक तथा राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुग्ने काम पनि गरेका छौं। व्यक्तिगत र कम्पनीको तर्फबाट पनि आवश्यक सामग्री लिएर प्रभावित क्षेत्रका बालबालिका तथा परिवारलाई सहयोग गर्ने अवसर पाएँ।
नेपालमा उद्योग सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती के रहे छन् ?
नेपालमा उद्योग सञ्चालन गर्दा प्रशासनिक प्रक्रिया र कच्चा पदार्थको आपूर्ति अझै चुनौतीपूर्ण छन्। ब्रान्ड दर्तादेखि विभिन्न निकायमा धाउनुपर्ने अवस्था विगतमा निकै कठिन थियो। चार–पाँच वर्षअघिको अनुभव झन् कठिन थियो।
अहिले केही सुधार भएको महसुस हुन्छ। केही महिनाअघि पनि सरकारी कामका लागि जाँदा पहिलेको तुलनामा धेरै फरक वातावरण पाएँ। तर म्यानुफ्याक्चरिङ उद्योगमा कच्चा पदार्थ समयमा नआइपुग्ने समस्या अझै छ। उत्पादनमा आवश्यक सामग्री समयमै आएन भने उत्पादन नै रोक्नुपर्ने अवस्था आउँछ।
सरकारले ‘मेड इन नेपाल’लाई प्राथमिकता दिने नीति अघि बढाइरहेको छ। यसले हामीजस्ता उद्योगीलाई आशा जगाएको छ। सरकारबाट अझ बढी सहजीकरण भयो भने स्वदेशमै उत्पादन गर्ने युवाहरूको संख्या बढ्न सक्छ।
नेपालमा ब्रान्ड निर्माण गर्न कत्तिको कठिन छ?
एकदमै कठिन छ। विशेषगरी हामीले कोरियन प्रविधिमा उत्पादन गछौं भन्दा उपभोक्तालाई त्यो वास्तविक र गुणस्तरीय हो भनेर विश्वास दिलाउन समय लाग्छ।
बजारमा नक्कली र डुप्लिकेट उत्पादन धेरै हुँदा वास्तविक उत्पादनलाई पनि प्रश्न गर्ने अवस्था हुन्छ। ‘कोरियन ब्रान्ड हो भने यति सस्तो कसरी भयो?’ भन्ने प्रश्न आउँछ। उपभोक्ताले एकपटक प्रयोग गरेपछि गुणस्तर बुझ्नुहुन्छ, तर पहिलोपटक प्रयोग गर्न विश्वास दिलाउनु नै ठूलो चुनौती हो।
त्यसैले ब्रान्ड निर्माण भनेको उत्पादन बनाएर बजारमा पठाउने मात्र होइन। गुणस्तर कायम गर्ने, उपभोक्ताको विश्वास जित्ने र निरन्तर राम्रो उत्पादन दिने लामो प्रक्रिया हो।
नेपालमा उत्पादन गर्ने उद्योगलाई सरकारले कस्तो सहयोग गर्नुपर्छ?
सबैभन्दा पहिले प्रक्रिया सरल र लगानीमैत्री हुनुपर्छ। हामी विदेशबाट प्रविधि, सीप र लगानी लिएर आफ्नै देशमा उद्योग गर्न आएका हुन्छौं। त्यसैले सरकारी निकायबाट अनावश्यक झन्झट नहोस् भन्ने अपेक्षा हुन्छ।
विदेशबाट आउने नेपालीलाई ‘नेपालमा आएर केही गरौं’ भन्ने वातावरण बनाउने हो भने सरकारको सहजीकरण निकै महत्वपूर्ण हुन्छ। विदेशी लगानी भित्र्याउन पनि प्रक्रिया सहज बनाउनुपर्छ। त्यसो भयो भने धेरै नेपाली विदेशबाट फर्केर नेपालमा उद्योग गर्न तयार हुन्छन् भन्ने मेरो विश्वास छ।
आगामी दिनमा थप व्यवसाय विस्तारका योजना के छन्?
हाम्रो सोच उत्पादन र म्यानुफ्याक्चरिङमै जाने हो। अहिले पनि केही योजना निर्माणकै क्रममा छन्, त्यसैले सबै कुरा अहिले नै सार्वजनिक गर्न चाहन्नँ। तर आगामी दिनमा विभिन्न क्षेत्रमा उद्योग विस्तार गर्ने सोच छ।
हामीले अहिले सञ्चालन गरिरहेका व्यवसायलाई व्यवस्थित र ठूलो बनाउँदै लैजाने, नयाँ उत्पादन थप्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो।
भविष्यमा राजनीतिमा आउने सम्भावना कत्तिको छ?
अहिले मेरो प्राथमिकता व्यवसाय नै हो। राजनीतिमा जाने सोच अहिले छैन। व्यवसायलाई कसरी अगाडि बढाउने, नयाँ उद्योग कसरी स्थापना गर्ने र आफूले सिकेको प्रविधि तथा अनुभवलाई नेपालमा कसरी प्रयोग गर्ने भन्ने नै मेरो ध्यानको विषय हो।
भोलि के हुन्छ भन्ने कुरा अहिले भन्न सकिँदैन। जीवनमा धेरै कुरा सोचेजस्तो नहुन पनि सक्छ। त्यसैले भविष्यका सबै सम्भावनालाई अहिले नै परिभाषित गर्न चाहन्नँ। तर अहिले भने व्यवसायमै केन्द्रित छु।
भविष्यमा ओरा वा अन्य कम्पनीलाई आईपीओमा लैजाने योजना छ?
हाम्रो सोच आईपीओमा जाने पनि हो। अहिले त्यसका लागि आवश्यक तयारी र छलफलका विषयहरू छन्। व्यवसायलाई पहिले बलियो बनाउने, त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै अगाडि बढ्ने हाम्रो योजना हो। समयअनुसार यस विषयमा विस्तृत रूपमा छलफल गर्दै जानेछौं।
अन्त्यमा, नेपालमा उद्यम गर्न चाहने युवाहरूलाई तपाईंको सन्देश के छ?
हामी युवाले आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने सोच राख्नुपर्छ। विदेशमा गएर सिकेको प्रविधि, सीप र अनुभवलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ।
सरकारबाट पनि हामीजस्ता युवालाई सहजीकरण र प्रोत्साहन आवश्यक छ। हामी आफ्नोतर्फबाट काम गर्न तयार छौं। सरकारले लगानी र उद्योगका लागि वातावरण सहज बनाइदियो भने अझ धेरै युवा आफ्नै देशमा फर्केर उद्योग तथा व्यवसाय गर्न सक्छन्।
मेरो आग्रह यति हो विदेशबाट लगानी र प्रविधि नेपाल भित्र्याउन चाहनेलाई सहज वातावरण बनाइदिनुपर्छ। सरकारको थोरै सहजीकरणले पनि ठूलो परिणाम दिन सक्छ।















प्रतिक्रिया दिनुहोस्