Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

शहीद परिवार भन्छन्– हाम्रा साधारण माग समेत पूरा नगर्नु अन्याय हो, पन्ध्र दिनभित्र सरकारले सम्बोधन नगरे सडकमा जान्छौं 

शहीद परिवार भन्छन्– हाम्रा साधारण माग समेत पूरा नगर्नु अन्याय हो, पन्ध्र दिनभित्र सरकारले सम्बोधन नगरे सडकमा जान्छौं 
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनका क्रममा छोरा गुमाएका गणेश चौलागाईंले सरकारले शहीद परिवारको माग तत्काल सम्बोधन नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । भदौ २३ गतेको आन्दोलनका क्रममा १९ वर्षका श्रीयम चौलागाईंलाई प्रहरीले चलाएको गोली टाउकोमा लागेको थियो । आन्दोलनमा आफ्नो एक्लो छोरालाई गुमाएका पिता गणेश चौलागाईंले प्रधानमन्त्रीले शहीद परिवारका माग दुई–तीन महिनाभित्र सम्बोधन गर्ने आश्वासन दिएको बताए ।

विज्ञापन
Advertisement
Advertisement

तर, त्यसलाई अस्वीकार गर्दै उनले शहीद परिवारको माग १५ दिनभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

शहीद श्रीयम बुबा, गणेश चौलागाईं

आफूहरुको माज पूरा नगरे सडक संघर्षमा उत्रिने उनले घोषणा गरे । चौलागाईंले भने, ‘प्रधानमन्त्रीले दुई–तीन महिनाभित्र माग पूरा गर्छु भन्नु भयो रे भन्ने सुनेको छु । तर त्यो कुरा हामी शहीद परिवारले मान्दैनौं । दुई–तीन महिना पर्खने स्थिति छैन । सरकारले अब १५ दिनभित्र हाम्रो माग सम्बोधन गर्नुपर्छ ।’

उनले धेरैजसो शहीद परिवारहरू अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताए । ‘कसैको घरमा सुत्केरी छ, कोही बुढाबुढी मात्रै छन्, कोही कमाएर बेलुकी खाने परिवारका छन्,’ चौलागाईंले भने, ‘यस्ता परिवारहरूलाई दुई–तीन महिनासम्म पर्ख भन्नु अन्याय हो,’ उनले भने । चौलागाईंले प्रधानमन्त्री शुशीला कार्की र गृह मन्त्रालयलाई १५ दिनको अल्टिमेटम दिँदै भने, ‘यदि सरकारले यो अवधि भित्र माग सम्बोधन गरेन भने शहीद परिवारहरू सडकमा आउँछन् ।’

उनले आजदेखि १५ दिनभित्र आफूहरुको माग सम्बोधन गर्न सरकारलाई ज्ञापनपत्र बुझाउने बताए ।

प्रत्येक शहीद परिवारका सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नुपर्ने, शहीद परिवारका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाइको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य उपचारमा आजीवन निःशुल्क सेवा सुनिश्चित गर्नुपर्ने , शहीद स्मृति पार्क निर्माण लगायतका अन्य संरचनात्मक योजनाहरू क्रमशः कार्यान्वयन गर्नुपर्ने माग उनीहरुको छ । चौलागाईंले केही मागहरूमा सरकार गम्भीर देखिएको उल्लेख गरे । ‘क्षतिपूर्ति १५ लाख दिने निर्णय भएको छ, शहीदलाई सम्मानपूर्वक अन्त्येष्टि गरियो, आधा झण्डा झुकाइयो । यी कुरा राम्रो भए तर अझै मुख्य मागहरू अधुरै छन्,’ उनले भने ।

उनले शहीद परिवारबीच देखिएको असमझदारीप्रति पनि असन्तुष्टि जनाए । ‘अब कुनै व्यक्तिगत स्वार्थ वा पदलोभका लागि लड्ने समय होइन, सबै शहीद परिवार एक ढिक्का भएर सरकारसँग माग सम्बोधनको दबाब दिनुपर्छ,’ चौलागाईंले भने । आर्थिक फन्डको पारदर्शिताबारे पनि प्रश्न उठाउँदै उनले भने, ‘शहीद परिवारको नाममा आएको पैसाको स्पष्ट विवरण हुनुपर्छ । आधिकारिक बैठकमा छलफल बिना कसैले एक्लै निर्णय गर्न मिल्दैन ।’

यसैगरी चौलागाईंले केही शहीद परिवारका प्रतिनिधिहरूले सरकारसँग ‘व्यक्तिगत लाभका लागि’ वार्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले भने, ‘शहीद परिवारको माग व्यक्तिगत होइन, सामूहिक हो । कुनै एक जनाको साइनमा सरकारसँग कुरा गरेर शहीद परिवारलाई भुल्याउने काम स्वीकार्य छैन ।’

उनले सरकार र सम्बन्धित निकायहरूलाई आधिकारिक प्रतिनिधित्वको स्पष्टता कायम गर्न समेत आग्रह गरे । ‘जो व्यक्ति अध्यक्षको हैसियतमा माग लिएर जान्छ, उ कुन तहको शहीद परिवार हो? उनले प्रश्न गरे, ‘पहिलो, दोस्रो वा तेस्रो भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’

चौलागाईंले वर्तमान सरकार जनताले रगत बगाएर बनेको उल्लेख गर्दै शहीद परिवारको साधारण मागलाई पूरा गर्न सरकारले दुई–तीन महिना पर्ख भन्नु अन्याय हुने बताए । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit