काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पुँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
विश्व लगानीकर्ता सप्ताह, २०२६ को अवसरमा कम्पनीले कास्कीको पोखरा–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो। लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने तथा युवालाई वित्तीय रूपमा सचेत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा कलेजका कर्मचारी गरी १०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा एनआईसी एशिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले विश्व लगानीकर्ता सप्ताह, २०२६ का मुख्य तथा पूरक विषयवस्तुमा आधारित रहेर प्रस्तुति दिएका थिए। उनले ‘लगानीकर्ताको उत्थानशीलता, डिजिटल ठगी र घोटालाबाट सतर्कता’ तथा ‘लगानीका आधारभूत पक्ष र युवा एवं भावी पुस्ताका लगानीकर्ता’ सम्बन्धी विषयमा जानकारी गराएका थिए।
‘आफ्नो भविष्यमा लगानी गरौँ, आजै त्यसको सुरक्षा गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थी जीवनदेखि नै बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिइएको थियो। सानो रकमबाट समेत व्यवस्थित रूपमा लगानी सुरु गर्न सकिने विषयमा जानकारी दिँदै रायमाझीले बचतलाई उचित क्षेत्रमा परिचालन गर्ने तरिकाबारे सहभागीलाई सचेत गराएका थिए। उनले धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, मुद्रा बजारका उपकरण, सामूहिक लगानी कोष तथा व्यवस्थित लगानी योजना (एसआईपी) लगायतका माध्यमबाट लगानी गर्ने प्रक्रियाबारे जानकारी दिएका थिए। साथै, दोस्रो बजारमा सूचीकृत कम्पनीका शेयरमा लगानी गर्ने निर्णय गर्दा कम्पनीको अवस्था, जोखिम तथा अन्य महत्त्वपूर्ण पक्षको विश्लेषण गर्नुपर्ने विषयमा पनि प्रकाश पारेका थिए।
कार्यक्रममा समग्र पुँजी बजारको पछिल्लो अवस्था, लगानीका अवसर तथा लगानी गर्दा अपनाउनुपर्ने सावधानीबारे समेत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले मुद्रा बजारका उपकरण र पूँजी बजारसम्बन्धी जिज्ञासा राखेका थिए। एनआईसी एशिया क्यापिटलले आफ्नो स्थापनाकालदेखि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित उक्त कार्यक्रमले युवा पुस्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै जिम्मेवार र सचेत लगानी संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्