काठमाडौं । काठमाडौंस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकमा प्रहरी पुगेका छन् । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको बताउने सात जनाको प्रहरी टोली केहीबेरअघि पत्रिकाको कार्यालयमा प्रवेश गरेको हो ।
नयाँ पत्रिकाका पत्रकार यम बमकाअनुसार प्रहरी टोलीले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित गराउनुपर्ने भन्दै उनको खोजी गरेको छ । प्रहरी अधिकारीहरू पक्राउ पुर्जीबिना नै कार्यालयमा पुगेको र मैनालीलाई लैजानुपर्ने बताउँदै कार्यकक्षमा बसिरहेको उनले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीको एक टोली कार्यालयभित्र रहेको छ भने अर्को टोली बाहिर गेटमा समेत बसेको छ । प्रहरीले आफूहरू अपराध अनुसन्धान महाशाखाबाट आएको र सन्तोष खड्काको आदेशमा परिचालित भएको बताएको जनाइएको छ ।
यसअघि आजै नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । एकै दिन दुई सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई लक्षित गरी प्रहरी परिचालित भएपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामागि गम्भीर प्रश्न उठेको छ।















प्रतिक्रिया दिनुहोस्