काठमाडौं। नेपालले थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक पहल थालेको छ। यसका लागि नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभामा अध्ययन प्रतिवेदनसहित आफ्नो दाबी प्रस्तुत गरेको छ।
हाल नेपालका ८ वटा हिमालले ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता पाएका छन्। प्रस्तावित ६ हिमालले पनि अन्तर्राष्ट्रिय मान्यता पाए नेपालमा यस्ता हिमालको संख्या १४ पुग्नेछ। यससँगै विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्नेछ। काठमाडौंमा जारी यूआईएएको दुईदिने महासभाको उद्घाटन सत्रमा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले ६ वटा हिमालको विवरण र तिनलाई छुट्टाछुट्टै हिमालका रूपमा मान्यता दिनुपर्ने आधार प्रस्तुत गरेका हुन् । शेर्पाले प्रस्तुत गरेको विवरणअनुसार यालुङ काङको उचाइ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिणको ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ मिटर, ल्होत्से मध्यको ८ हजार ४१० मिटर, ल्होत्से शारको ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिमको ८ हजार ७७ मिटर उचाइ रहेको छ ।
एनएमएले यी हिमालको वास्तविक पहिचान र उचाइ मापनका लागि अध्ययन टोली गठन गरेको थियो । उक्त टोलीले हिमालको भौगोलिक बनोट, छुट्टाछुट्टै चुचुरा तथा अलग–अलग आरोहण मार्ग रहेको पुष्टि गर्ने प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले जानकारी दिएका छन् । प्रस्तावित हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपाल विश्वमै ८ हजार मिटरभन्दा अग्ला हिमालको सबैभन्दा धेरै संख्या भएको देशका रूपमा स्थापित हुनेछ । महासभाको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको प्रस्तावलाई महत्वपूर्ण उपलब्धिको सम्भावनाका रूपमा व्याख्या गरेका छन् । उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला २० मध्ये १४ वटा हिमाल नेपालमा रहेको पहिचान स्थापित हुनु आफैंमा शानदार उपलब्धि हुने बताए ।
मन्त्री पौडेलका अनुसार यसले नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख केन्द्रका रूपमा थप स्थापित गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका नयाँ अवसर सिर्जना गर्नेछ । उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको प्रस्ताव केवल हिमालको संख्या थप्ने विषय मात्र होइन, यो हाम्रो हिमाली भूगोल, प्राकृतिक सम्पदा र पर्वतीय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष तथ्य, अध्ययन र वैज्ञानिक आधारसहित स्थापित गर्ने प्रयास पनि हो ।’ महासभामा ४५ देशका ९५ जना प्रतिनिधिको सहभागिता रहेको छ। यसअघि नेपालमा सन् १९८२ र २०११ मा यूआईएएको महासभा आयोजना भएको थियो ।















प्रतिक्रिया दिनुहोस्