काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने तथा स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको छ। यसैक्रममा प्राधिकरणले आजदेखि आगामी २० कात्तिकसम्म विभिन्न स्थानमा दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् तार भूमिगत गर्ने कार्यका लागि बिहान १०: ३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पहिलो दिन १३ कात्तिकमा बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ।
त्यस्तै, १४ कात्तिकमा सीतापाइला फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसनसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। १५ कात्तिकमा भने कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्मका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ। यसैगरी, १६ कात्तिकमा बाफल फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसन क्षेत्रसम्म तथा १७ कात्तिकमा शंखमूल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती हुनेछ।
प्राधिकरणको तालिकाअनुसार १८ र २० कात्तिकमा सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् सेवा बन्द हुने उल्लेख छ। यस्तै, १९ कात्तिकमा स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल आसपासका क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ। प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा स्थगित हुन सक्ने जनाएको छ। निर्धारित समयभन्दा अघि नै काम सम्पन्न भएमा विद्युत् आपूर्ति पुनः सञ्चालन हुन सक्ने समेत जनाएको छ।
विद्युत् वितरण प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यका क्रममा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। साथै, विद्युत् अवरुद्ध हुने समयलाई ध्यानमा राख्दै आवश्यक वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित सबै उपभोक्तालाई अनुरोध गरेको छ।















प्रतिक्रिया दिनुहोस्