काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।
‘सरकार नालायक र दमनकारी बन्दै जाने, अराजक र पपुलिष्ट बन्दै गएको वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डो¥याउने आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको छ’ महासचिव भूसालले उल्लेख गरेका छन् ।
सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले देशमा भ्रष्टचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
यस्तै, भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको छ ।
बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरी संसद् छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ ।
‘सरकारले संसदलाई छलेर विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई अध्यादेश ल्याउनु संविधान, ऐन–कानून, संसद नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन हो । भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने प्रावधान राखेर ल्याइएको अध्यादेशको अन्तरवस्तुमा पनि सहमत हुन सकिन्न’ दोस्रो बैठकले पारित गरेको पहिलो बुँदामा उल्लेख छ ।
त्यस्तै, बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारीमुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र संवादको माध्यमबाट ताप्लेजुङ केबलकारको समस्या समाधान गर्न र दूध र उखुको भुक्तानी गर्न सरकारसँग माग गरिएको महासचिव भुसालले बताए । उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए । बैठकले जनताका आधारभूत मुद्दालाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्याउने गरी आन्दोलनको कार्ययोजनाका रूपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भुसालले जानकारी दिए ।
यस्तै बैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन पारित गरेको छ । यस्तै, पार्टीको नियमावली, विनियम, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित २० वुँदे प्रस्ताव पारित गरेको महासचिव भुसालले बताए ।















प्रतिक्रिया दिनुहोस्