
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.६४ अंकले घटेको छ । नेम्से आज २६९९ अंकमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९९.८१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । यो सँगै आज सेयर बजार २७ सयमुनि झरेको छ । बुधबार ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को कारोबार आज स्थिर रह्यो ।
फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशत बढ्यो । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशतले घटेको छ ।
बैंकिङतर्फ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्यतर्फ १.०५ र व्यापार ०.११ प्रतिशत घटेका छन् ।
आज अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्दा सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य वृद्धि भएको छ । यसैगरी, उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत र भूगोल इनर्जीको ७.८९, रावा इनर्जीको ४.७ प्रतिशत मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्