Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

लेखा समितिको गलत निर्देशनले १८ महिनादेखि ४२ कम्पनीको आईपीओ रोकियो : इप्पान

लेखा समितिको गलत निर्देशनले १८ महिनादेखि ४२ कम्पनीको आईपीओ रोकियो : इप्पान
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिको गलत निर्देशनका कारण १८ महिनादेखि प्राथमिक सेयर निष्कासन (आईपीओ) रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

इप्पानले सोमबार आईपीओ तथा हकप्रद सेयरको सार्वजनिक निष्कासन रोकिएको विषयमा लेखासमितिका सदस्यसमेत रहेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको ध्यानाकर्षण गराएको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले लेखासमितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिँदा ४२ कम्पनीको आईपीओ र ३० भन्दा बढी कम्पनीको हकप्रद सेयर गरी ५० अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक निष्कासन रोकिएको विषयमा जानकारी गराए ।

भेटमा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सेबोनले डेढ वर्षदेखि सार्वजनिक निष्कासन रोक्दा जलविद्युत् आयोजनाको काम मात्रै प्रभावित नभएर जलविद्युत् आयोजनालाई सिमेन्ट डन्डीलगायत सामान बेच्ने उद्योगहरूको व्यवसायमा पनि ह्रास आई यसले समग्र अर्थतन्त्रलाई नै संकुचित बनाएको उल्लेख गरे ।

यस्तै, इप्पानका उपमहासचिव प्रकाश दुलालले लेखा समितिले निर्देशनमा भनेको ‘रियल नेटवर्थ’ भन्ने शब्दावली संसारभरको लेखाप्रणालीमा कतै पनि प्रयोगमा नरहेको बताए । “अहिले लेखा समितिले आईपीओ जारी गर्नका लागि ९० प्रतिशत रियल नेटवर्थ हुनुपर्ने भनेर निर्देशन दिएको छ । सेबोनमा निवेदन दिएका ४२ कम्पनीमध्ये ४ वटा कम्पनीबाहेक सबैको नेटवर्थ ९० प्रतिशतभन्दा बढी छ । बाँकी कम्पनीलाई किन सेयर जारी गर्न नदिएको?” दुलालले प्रश्न सोधे।

प्रमुख सचेतकसँगको भेटमा इप्पानले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण रोक्ने सर्वोच्चको आदेश र विद्युत् विधेयकको बारेमा पनि कुरा उठाएको जनाएको छ ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफू विकासका सम्पूर्ण ढोकाहरू खोल्नुपर्ने पक्षमा भएको भन्दै इप्पानले उठाएका सबै विषयमा संसद्मा आवाज उठाउने बताए ।

उनले नेपालको विकास नहुनुको कारण नै समाजवादको नारा भएको टिप्पणी गरे । उनले कुनै व्यापारीले २–४ पैसा कमाउनेबित्तिकै उसलाई चोर–फटाहा देख्ने अवस्थाको सिर्जना हुनु दुर्भाग्य भएको बताए । “देश बिग्रेको समाजवादको नाराले हो, राज्य करले र व्यवसायी नाफाले चल्छ । नाफा भएन भने कर आउँदैन । २–४ पैसा कमाउने व्यवसायीलाई चोर फटाहा देख्ने समाजवादी सोचका कारण नेपाल धेरै पछि परेको हो,” घिमिरेले भने ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit