काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सरकारले पुँजीगत खर्चतर्फ विनियोजित बजेटको ३२.५३ प्रतिशत मात्रै खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पूर्वाधार तथा विकास निर्माणका लागि छुट्याइएको बजेटमध्ये हालसम्म १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो। आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा पनि विकास बजेटको खर्च अपेक्षाअनुसार हुन नसकेको देखिएको छ।
यस्तै, चालु खर्चतर्फ भने लक्ष्यको ७६.९१ प्रतिशत खर्च भएको छ। सरकारले चालु आवमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेकामा ११ महिनामा अधिकांश रकम खर्च भइसकेको छ।
वित्तीय व्यवस्थापनतर्फ वर्षभरिका लागि ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ३ खर्ब ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।
हरेक वर्षजस्तै चालु आवमा पनि पुँजीगत खर्च सुस्त रहँदा विकास आयोजना कार्यान्वयन र बजेट खर्चको प्रभावकारितामाथि प्रश्न उठेको छ। आर्थिक वर्षको अन्तिम महिनामा ठूलो रकम खर्च गर्ने पुरानै प्रवृत्ति दोहोरिने संकेत देखिएको छ।

















प्रतिक्रिया दिनुहोस्