एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्लाई) सम्बोधन गर्दै ‘अमेरिका फर्किएको’ घोषणा गरेका छन् ।
आफ्नो कट्टरपन्थी नीतिको प्रशंसा गर्दै डेमोक्र्याटिक पार्टीको शत्रुताको सामना गरेपनि युक्रेन मामलामा सफलता हासिल भएको घोषणा ट्रम्पले गरेका हुन् ।
संसदमा ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने “मेरो प्रशासन ‘भर्खर सुरु हुँदैछ।”
सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले अमेरिकी सपना अजेय भएको बताएका छन् ।
जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो । यसको अर्थ अमेरिकी प्रत्येक व्यक्तिसँग सफल हुने र राम्रो जीवन प्राप्त गर्ने स्वतन्त्रता र अवसर छ भन्ने हो।
लगभग हरेक वाक्यांशसँगै रिपब्लिकन पार्टीका सदस्यहरूबाट ठूलो तालीको गडगडाहट पाएको उक्त सम्बोधनमा ट्रम्पले छुट्टाछुट्टै दुई पटक स्पेसएक्स र टेस्लाका मालिक मस्कको नाम उच्चारण गर्न भने छुटाएनन् ।आफ्नो सम्बोधनको क्रममा ट्रम्पले टिट फर ट्याट ट्यारिफ अप्रिल २ देखि लागू गर्ने बताए । उनले भने, ‘अन्य देशले हामीलाई भारी कर र भन्सार लगाउँछन्, अब हाम्रो पालो हो।’
यस्तै उनले आप्रवासन समस्याप्रति आफू नेतृत्वको सरकारले सुरु गरेको कारबाहीलाई प्रशंसा गर्दै जो बाइडेनलाई अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति भन्न भ्याए । बाइडेनको नीतिले लाखौँ अवैध आप्रवासी अमेरिका प्रवेश गरेको भन्दै उनले देशमा मुद्रास्फीति बढ्नुमा बाइडेनलाई दोषी माने । ट्रम्पले गोल्ड कार्ड भिसाकार्डबारे पनि सदनमा उल्लेख गर्दै त्यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र अमेरिकी कम्पनीहरूलाई फाइदा पुर्याउने बताए ।
कुनै न कुनै रूपमा पानामा नहरको नियन्त्रण अमेरिकाले प्राप्त गर्ने बताएका उनले सबै सरकारी सेन्सरसिप समाप्त गरेको चर्चा संसदमा गरे । उनको सम्बोधनमा तालिको गडगडाहट कै केही मिनेटमै विपक्षी सांसद्बाट विरोध भएको थियो । विरोधका क्रममा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई लिएर ट्रम्पको विरोध गरिरहेका डेमोक्र्याटहरूले चुपचाप ‘झूटो’, ‘मस्कले चोरी गरे’ र ‘यो झूट हो’ जस्ता प्लेकार्डहरू बोकेर सभा हलमा उभिएका थिए । यस्तै, अधिकांश डेमोक्र्याटहरूले ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेको सन् २०२१ जनवरी ६ मा क्यापिटोलमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आक्रमणको विगत कोट्याउने प्रयास गर्दै ‘जनवरी ६’ भनेर नारा लगाएका थिए ।
अठहत्तर वर्षीय राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो ६ हप्ताको प्रशंसा गर्दै अमेरिकी सरकारलाई नयाँ आकार दिन र युक्रेन युद्ध अन्त्यका लागि आफ्नो ध्रुवीकरणको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्