काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता देशका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन्। भौगर्भिक समाजद्वारा आज काठमाडौंमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्वजगतमा पुर्याउनुपर्ने बताए।
उनले विकसित देशहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता विकासशील एवं अल्पविकसित देशहरू समेत प्रभावित हुनुपरेको सन्दर्भमा जलवायु न्यायको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने धारणा व्यक्त गरे।
जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप तथा व्यवस्थापन जस्ता जल्दाबल्दा विषयले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै राष्ट्रपति पौडेलले मानव जनजीवनसँग प्रत्यक्ष सरोकार रहेको यस किसिमका सम्वेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औँल्याए।
राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रम अस्वभाविक रुपमा वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दै तीन दशकयताको यस अवधिमा हाम्रा हिमालका हिउँ पग्लिएर हिमतालहरू फुट्ने अवस्थामा पुगेको, अधिकांश हिमाल नाङ्गा पहाडमा रुपान्तरण हुनेक्रममा रहेको, अधिक वर्षाका कारण जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि जनधनको ठूलो क्षति भइरहेको भनी चिन्ता व्यक्त गरे।
उनले हिमालय पर्वत शृङ्खलामा बेलाबेलामा गइरहने भूकम्प पनि हिमाली मुलुक नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउँदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्न सकिने भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्रको आविष्कार हुन नसक्दा समस्या सिर्जना भएको धारणा पौडेलको छ।
राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजजन्य पदार्थको स्थिति, अन्वेषणको अवस्था, जलवायु परिवर्त र त्यसको प्रभाव, भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विचारविमर्श हुने विश्वास व्यक्त गरे। उनले प्राकृतिक स्रोतको उत्खनन, सदुपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्नसमेत भौगर्भिक सम्मेलन उपयोगी हुने विश्वास उनको छ।
राष्ट्रपति पौडेलले भने, “२०७२ सालको गार्खा भूकम्प गएको एक दशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको समीक्षा समेत गरिने भएकाले यो भौगर्भिक सम्मेलनको विशेष महत्व छ, सम्मेलन सफलताका कामना गर्दछु।”

















प्रतिक्रिया दिनुहोस्