काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् ।
संसद् भवन नयाँबानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउने वातावरण बनाइदिन दलका सचेतकसँग आग्रह गरेका हुन् । अधिवेशन सञ्चालन नभएको अवस्थामा सदन रोक्न नहुने धारणा राख्दै कुनै पनि हालतमा अवरोध उचित नहुने घिमिरेले बताए ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि (चैत १८) गतेको बैठकमा सम्बोधन गर्ने बताए । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको उल्लेख गर्दै प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गरेको बताए ।
यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् ।
















प्रतिक्रिया दिनुहोस्