काठमाडौं । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रहरूमा जन्मिएका नवजात शिशुको जीवनरक्षा हेतु स्वास्थ्य संस्थाहरुमा आवश्यक चिकित्सा उपकरण ‘बेबी वार्मर’ उपलब्ध गराएको छ ।
प्रदेशका स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदेशका अति दुर्गम चार स्थानमा उपलब्ध गराएको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरुमा बेबी वार्मर प्रदान गरेको जनाएको छ ।
बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ। साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका वडा नं ०२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका वडा नं. ०५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ। यसका अतिरिक्त, बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं.०२, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा मेसिन उपलब्ध गराएको छ । उक्त्त स्थानमा बेबी वार्मर जडान पहिलो भएकाले प्रसूति सेवामा थप सहजता पुग्ने भएको छ ।
बैंकका मार्केटिङ्ग, ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीद्वारा उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सरोकारवालालाई बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत यी ४ वटा अस्पताल तथा बर्थिंग सेन्टर सहित हालसम्म देशभर ५९ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको जनाएको छ।
यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २०६५ भन्दा बढी नवजात शिशुहरुले सुविधा पाउने गरेका छन् । बैंकको हालसम्मको योगदानले करिब १०३२५ भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्। बैंकले खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई सामाजिक क्षेत्रमा विभिन्न सेवा प्रवाह गर्दै आएको छ ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्