काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई केही नियोजित स्वार्थ समूहले सुरुवात देखि निरन्तर हटाउने प्रयास गरेको र सफल भएको बताएका छन् । उनले भने, ‘म दोस्रो कार्यकालमा आएदेखि नै हटाउन केही व्यक्तिहरु सक्रिय थिए, ति सफल भए ।’
आफू चेपाङ समुदायमा बत्ती बाल्न खटिएको दिन सरकारले दुरासयपूर्ण भावले पदबाट हटाएको दाबी गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भएपनि नेपाली जनताले आफूलाई आशिर्वाद दिएको बताए ।
आफूलाई बर्खास्त गर्नुलाई उनले सरकारद्धारा राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही र अपमानित बनाउने कार्यका रूपमा लिएको बताए । “नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही र अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान ।’ उनले थप भने, नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’
आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ । कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उनको भनाइ छ ।
सरकारले हटाएपछि आफ्ना पक्षमा संसदको रोष्ट्रमबाट आवाज उठेको भन्दै उनले जनताले आफूले गरेका काम महसुस गरेकोमा खुसी व्यक्त गरे ।

















प्रतिक्रिया दिनुहोस्