काठमाण्डाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आन्तरिक लेखाजोखा तथा दायित्वको मूल्यांकन गरेपछि बीमितलाई दिइने बोनसदर निर्धारण गरी नेपाल बीमा प्राधिकरणबाट चैत १२ गते स्वीकृति प्राप्त गरेको हो।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार ‘सावधिक जीवन बीमा’ योजनामा बीमितहरूले न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिवर्ष, प्रति हजार रुपैयाँ बीमाङ्कको आधारमा बोनस पाउनेछन्।
यस्तै, ‘सावधिक तथा आजीवन’ योजनामा आबद्ध बीमितले न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्मको बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ। ‘अग्रिम भुक्तानी सावधिक’ योजना अन्तर्गत भने बीमितहरूलाई न्यूनतम २३ रुपैयाँदेखि अधिकतम २७ रुपैयाँसम्म बोनस दिने निर्णय गरिएको छ।
कम्पनीले अन्य विभिन्न बीमा योजनाहरूका लागि पनि फरक(फरक दरमा बोनसदर तोकेको छ। ‘महालक्ष्मी सावधिक जीवन बीमा’ योजनामा न्यूनतम ४५ र अधिकतम ५२ रुपैयाँसम्म, ‘महालक्ष्मी सरल जीवन बीमा’ योजनामा ५२ देखि ५५ रुपैयाँसम्म, ‘महालक्ष्मी जीवन हेरचाह बीमा’मा ५० देखि ५१ रुपैयाँसम्म, र ‘महालक्ष्मी बाल बचत बीमा’ योजनामा बीमाअवधिको आधारमा न्यूनतम ३२ देखि अधिकतम ३९ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ।
त्यस्तै, ‘महालक्ष्मी वार्षिक धनफिर्ता बीमा’ योजनामा बीमाअवधि जे भए पनि ३५ रुपैयाँ बोनस दिइनेछ भने ‘महालक्ष्मी धनधान्य बीमा’ योजनामा ४५ रुपैयाँ र ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजनामा ३८ रुपैयाँ बोनस उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार, आर्थिक वर्ष २०८ \८१ मा मुनाफामा सरिक भएका जीवन बीमालेखहरूमा, अर्को बीमांकीय मूल्यांकन नहुँदासम्मका लागि घोषित बोनसदर कायम रहनेछ। बीमितहरूलाई दीर्घकालीन लाभ पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्