काठमाडौं। महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश लिएर काठमाडौंदेखि नगरकोटसम्म आयोजित ‘कर्पोरेट महिला बाइक र्याली २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। कर्पोरेट समाचार अनलाइनको आयोजना र रोयल इन्फिल्डको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ४७ जना भन्दा बढी महिला बाइक राइडरहरूको सहभागिता रहेको थियो।

नेपालकै पहिलो महिला स्कुटर चालक तथा स्वतन्त्रता आन्दोलनकी अग्रणी व्यक्तित्व कमला श्रेष्ठले र्यालीको उद्घाटन गरिन्। कार्यक्रममा उनले महिलाले अब केवल सवारी साधन मात्र हैन, आत्मविश्वास र क्षमताको परिचय दिन थालेको स्पष्ट पारिन्। ‘नेतृत्व होस् वा साहसिक कार्य, महिलाहरू अब पछाडि छैनन्,’ उनले भनिन्।
कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौड्याल र आयोजक संस्थाकी अध्यक्ष संगिता खत्रीको पनि उपस्थिति थियो।

नाडा अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रमा महिला सहभागिता विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले थप प्रोत्साहन प्रदान गर्ने बताए। पूर्व अध्यक्ष दुलालले भने महिलाहरू सामाजिक सोच परिवर्तनको अगुवा बन्न थालेको धारणा राखे। ‘यस्ता अभियानहरूले समाजमा सकारात्मक सोच फैलाउनेछ, उनले भने।

रोयल इन्फिल्ड नेपालका निर्देशक पौड्यालले महिला राइडरहरूको आत्मबलप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा यस्ता साहसिक यात्रामा निरन्तर साथ रहने प्रतिबद्धता जनाए।

र्याली काठमाडौंबाट सुरू भई नगरकोटसम्म पुगेको थियो। यात्रा भरि राइडरहरूको सुरक्षालाई ध्यानमा राख्दै अल्का अस्पतालको एम्बुलेन्स र मेडिकल सहायता उपलब्ध गराइएको थियो। नगरकोटमा राइडरहरूको स्वागत भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौवाञ्जाले गरिन्। उनले महिलाहरू अब घरको सीमाबाट निस्किएर नेतृत्वको भूमिकासम्म आइपुगेको उल्लेख गर्दै यस्तो साहसिक यात्राले सशक्त सन्देश दिएको बताइन्।

कार्यक्रमको समापनमा आयोजक संस्थाकी अध्यक्ष संगिता खत्रीले सहभागी सबैलाई धन्यवाद दिँदै महिलाहरूको उत्साह र आत्मबलले आफूहरू आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन प्रेरित भएको बताइन्। सहभागी महिला राइडरहरूलाई मायाको चिनो र प्रशंसा–पत्र प्रदान गरिएको थियो।

र्यालीले केवल महिला सशक्तीकरणको आवाज उठाएन, सामाजिक सोचमा सकारात्मक परिवर्तन ल्याउने एउटा उदाहरण पनि स्थापित गर्यो। आयोजकले यस्ता अभियानले दीर्घकालीन रूपमा समाजमा रूपान्तरण ल्याउने विश्वास व्यक्त गरेका छन्।



@corporate.samacha · कर्पोरेट समाचार महिला र्याली २०२५ यसरी भयो भब्य रूपमा सम्पन्न

















प्रतिक्रिया दिनुहोस्