काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा.गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा पुरक रिट निवेदन दर्ता भएको छ । भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले यसअघि दायर गरेको रिटमै शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता भएको छ ।
आइतबार नै पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको सार्वोच्चका सूचना अधिकारी तथा सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।
सूचना अधिकारी पाण्डेले भने, ‘यस सम्बन्धमा अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पहिले नै रिट दर्ता गरिसक्नु भएकाले सोही रिटको नम्बरमा आज पुरक निवेदन परेको छ । रिट दर्ता भएको होइन, पुरक निवेदन आएको हो । पहिलो रिटको सुनुवाइ सात गते हुने भएकाले सोही दिन पुरक निवेदनको समेत सुनुवाइ हुन्छ ।’
यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिटमा ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई राष्ट्र बैंकमा गर्भनर नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने भन्दै रिट परेको हो ।
सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई गर्भनर बनाउन सत्ता साझेदार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अडान लिएका थिए । भट्ट राजनीतिक पहुँचले गभर्नर बन्ने निश्चित भएपछि टिप्पणी भैरहेको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्