images images images
images images images
images
images
images

भाजी र माटेसागमा विषादी फेला

images

राँझा (बाँके) । नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजारमा बिक्रीका लागि ल्याइएका भाजी र माटेसागमा विषादीको मात्रा फेला परेको छ ।

नेपालगञ्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा बजारबाट सङ्कलन गरेर ल्याइएका तरकारीको नमूना परीक्षण गर्दा भाजी र माटेसागमा विषादीको मात्रा फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए ।

images
images

उनले गत चैतमा विषादी परीक्षणका लागि प्रयोगशालामा ल्याइएको भाजीको साग एक र माटेसागको दुईमा नमूना परीक्षण गर्दा विषादीको मात्रा अधिक (रेड लेबल) पाइएकाले उपभोग गर्न नमिल्ने बताए । उक्त साग बाँकेकौ हिरमिनिया क्षेत्रमा उत्पादन भएर रानीतलाउ तरकारी बजारमा बिक्रीका लागि ल्याइएको थियो ।

‘पहिलापहिलाका वर्षमा भन्दा यसवर्ष तरकारीजन्य वस्तुमा विषादीको मात्रा भेटिने क्रम कम हुँदै गएको छ । एक सयमा ९८ प्रतिशत किसानका उत्पादन गुणस्तरीय छन्, तर दुई प्रतिशत किसानका उत्पादनमा विषादीको मात्रा फेला पर्ने गरेको छ’, चौधरीले भने, ‘चैतमा हामीले रानीतलाउबाट तरकारीजन्य वस्तुको नमूना सङ्कलन गर्दा धेरैजसो गुणस्तरीय पाएका थियौँ । भाजी र माटेसागको तीन वटा नमूनामा मात्रै विषादीको मात्रा भेटिएको हो ।’

प्रयोगशालामा नेपालका विभिन्न जिल्ला र भारतबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने गरेको छ । एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमूनाको नतिजा आउने चौधरीको भनाइ छ । परीक्षणमा ‘रेड लेबल’ पाइएका वस्तुको उपभोग गर्न नमिल्ने जनाउँदै उनले पहेँलो (यल्लो लेबल) पाइएका वस्तुलाई पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने उल्लेख गरे ।

‘तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई हरियो (ग्रीन लेबल) भनिने र उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई यल्लो लेबल भनिने र त्यसलाई चार–पाँच दिनसम्म क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने र ४५ प्रतिशत भन्दामाथि निषेध प्रतिशत रेड लेबल देखिएमा त्यसलाई प्रयोग गर्न नमिल्ने प्रावधान छ’, प्रयोगशालाका नायब प्राविधिक सहायक चौधरीले भने ।

रानीतलाउ तरकारी बजार सञ्चालक समिति अध्यक्ष मोतिसरा थापा क्षेत्रीले तरकारी बजारमा भेटिने गरेका विषादीयुक्त तरकारी तथा फलफूलजन्य वस्तुलाई नष्ट गर्ने गरेको बताए । रासस

images
images

प्रतिक्रिया दिनुहोस्