काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेर कमाइ गरिरहेका नेपालीहरूलाई नेपालमै लगानी गर्न आग्रह गरेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा युएईमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको उल्लेख गर्दै आफ्ना पुँजीको केही अंश मातृभूमिमा लगानी गर्न आग्रह गरेका हुन् ।
उनका अनुसार नेपालमा अझै पनि थुप्रै क्षेत्रहरू अन्वेषण हुन बाँकी छन्। तर, यहाँ सम्भावना छैन भन्ने मनोवृत्तिले सकारात्मक प्रयासहरू ओझेलमा परेको छ। विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई उनले विदेशको चकमके विकाससँग नेपाललाई तुलना मात्र नगरी, त्यस्तै मिहिनेत र लगानी देशमै गर्न प्रेरित गरे।
अध्यक्ष ढकालले भने, ‘यदि विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने यहाँ पनि राम्रो प्रतिफल लिन सकिन्छ।’ उनका अनुसार अहिले सरकारले कानुनमा सुधार गरी लगानीमैत्री वातावरण बनाउँदै लगेको छ, जुन निजी क्षेत्रको निरन्तर पहलको परिणाम हो।
उनले थप भने, ‘विदेशमा बसेर मात्र आलोचना गर्ने होइन, तपाईंहरूको कमाइको केही अंश नेपालमा लगानी गर्नुस्, हामीले तपाईंलाई प्रतिफल दिने वातावरण बनाउनेछौँ। देशको विकासमा सबै नेपालीको भूमिका रहने विश्वास व्यक्त गर्दै उनले गैर आवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमाझ ‘नेपाल डेभलपमेन्ट कम्पनी’ को अवधारणा प्रस्तुत गरे। १० अर्ब पूँजीसहित स्थापना भएको यस कम्पनीमार्फत जलविद्युत्, पर्यटन, उद्योगजस्ता क्षेत्रमा ठूलो लगानी सम्भव हुने उनको धारणा छ।
ढकालले बागलुङको सामान्य पृष्ठभूमिबाट सुरुवात गरी आज देशको निजी क्षेत्रको नेतृत्वमा पुगेको आफ्नो जीवनको उदाहरण दिँदै भने, ‘मिहिनेत, लगनशीलता र इमान्दारिताले नेपालमै सम्भावना साकार गर्न सकिन्छ।’ उनले विदेशी लगानी मात्रले होइन, स्वदेशी पुँजी र संकल्पले पनि ठूला पूर्वाधार परियोजनामा लगानी गर्न सकिने विश्वास व्यक्त गरे। छरिएर रहेको नेपाली पूँजीलाई एकीकृत गरेर अब देशमै समृद्धिको यात्रा तय गर्न सकिने उनको दाबी थियो।

















प्रतिक्रिया दिनुहोस्