काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले राखेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक तरलता व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ६ प्रतिशतभित्रै सीमित राख्ने गरी मौद्रिक नीति तर्जुमा गरिने बताएका छन्।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्। उनका अनुसार बजेटमा सुशासन, डिजिटलाइजेसन र विद्युतीकरणलाई प्राथमिकता दिइएकाले यसले आर्थिक वृद्धिमा सकारात्मक उर्जा (सिनर्जी) दिनेछ। साना कर्जालाई आर्थिक कारोबार र क्रेडिट स्कोरका आधारमा मापन गर्ने गरी बजेट आएकाले फिनटेक मार्केटप्लेसको अवधारणालाई राष्ट्र बैंकले छिट्टै अगाडि बढाउने उनको भनाइ छ। ‘साना कर्जालाई आर्थिक कारोबारको ट्रयाक रेकर्ड र क्रेडिट स्कोरको आधारमा मापन गर्ने कुरा बजेटमा आएको छ,’ पौडेलले भने,’ यसमा राष्ट्र बैंक अगाडि बढ्छ ।’
यस्तै, उपभोग बढाउन हायर पर्चेज कर्जा र निम्न मध्यम वर्गको उत्थानका लागि परिष्कृत सहुलियतपूर्ण कर्जाको व्यवस्था बजेटले अझ बढी परिस्कृत ढंगले ल्याउन खोजेको उनको भनाइ छ । उनले बैंकहरूको बढ्दो निष्क्रिय कर्जा र गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि निश्चित समयभित्रै कानून बनाएर एसेट म्यानेजमेन्ट कम्पनी मोडेल कार्यान्वयनमा ल्याइने उल्लेख गरे । बढ्दो विदेशी मुद्रा सञ्चितिको सदुपयोग गर्न यो फण्ड सम्बन्धी कार्यविधि बनाइने उल्लेख गर्दै उनले भने,–‘यसलाई कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । बैंकहरूलाई प्रोफिटाबिलिटी भन्दा पनि लिक्विडीटी महत्वपूर्ण हुन्छ ।’

















प्रतिक्रिया दिनुहोस्