काठमाडौं । काठमाडौंको झम्सिखेलमा रहेको सानो पसल ‘जुजु वेर’ सायद धेरैको नजरमा पर्न नसक्ला। तर यस सानो ठाउँबाट विश्व बजारमा नेपाली कपडाको ब्रान्डिङ गर्न थाल्ने एउटा गहिरो कथा लुकेको छ-प्रदीपमान शाक्यको कथा। प्रदीपमान शाक्यको पारिवारिक पृष्ठभूमि व्यापारिक नै हो। सन् १९९० को दशकमा, नेपालमा गार्मेन्ट उद्योगले बिस्तार लिंदै गर्दा उनले साथीसँगै गार्मेन्ट व्यवसायमा पाइला टेके। सुरुमा यो क्षेत्रबारे खासै ज्ञान थिएन, तर अनुभवसंगै सीप बढ्दै गयो।
‘ग्याप’, ‘वालमार्ट’ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डको लागि उत्पादन गर्दा उनले नेपालको फयाक्ट्री प्रणाली, उत्पादन स्तर र गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिके। त्यही बेला नेपालले गार्मेन्टमा अन्तर्राष्ट्रिय स्तरमा राम्रो उपस्थिति बनाइरहेको थियो। व्यवसाय डुबेको क्षण, फेरि उभारिएको यात्रा तर कथा सधैं एकनासको हुँदैन। कोटाको अन्त्य, बदलिंदो राजनीतिक अवस्था र विश्व बजारको मागमा आएको गिरावटका कारण नेपाली गार्मेन्ट उद्योग एकाएक ठप्प भयो। प्रदीपमान भन्छन्, ‘त्यो समय अँध्यारो जस्तै थियो, डार्क फेज नै।’ तर यथार्थवाट हार खाँदैनन् उनी। अमेरिकी क्लाइन्टसँग सहकार्य गर्दै उनले पाँच वर्षसम्म उनीहरूको लागि डिजाइन र उत्पादनमा काम गरे। यिनै अनुभवले आज उनलाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक ज्ञान दियो।
सन् १९९५ मा उनले आफ्नै उत्पादन सुरु गर्ने निर्णय गरे। भक्तपुरबाट सुरु गरेर जापानको ओसाका पुग्दा, नेपाली कपडाको कलात्मकता र गुणस्तरले त्यहाँका ग्राहकलाई चकित बनायो। एक जापानी क्लाइन्टको सानो अर्डरले क्रमशः जापान, क्यानडा र जर्मनीसम्म उनले बनाएको कपडा पुग्यो । यता नेपालको ब्यापारमा पनि बढ्दै लाजिम्पाट र ठमेलमा पसल खुले ।s
नेपाली कलाको सुगन्ध सँगै फैशन
उनले बनाउने कपडामा नेपाली कला, संस्कृति, प्रकृति र चाडपर्वको झल्को देखिन्छ। जुजु वेरका टिसर्टहरूमा ‘तमसोमा जोतिर्गमय’ जस्ता स्लोगन, बुद्धको दर्शन झल्काउने उद्धरण, वा हिमाल र मन्दिरका आकृतिहरू सजिन्छन्। उनको नारा नै छ, ‘गर्वका साथ लगाउनुस् ’ ।
‘हामी कपडामार्फत नेपाली कलालाई बोल्ने बनाउने प्रयास गर्छौं,’ उनी भन्छन्, ‘एक किसिमले हामी कला र संस्कृति पनि निर्यात गरिरहेका छौं।’ उनका डिजाइनहरूलाई विशेष गरी विदेशमा बस्ने नेपालीहरूले मन पराएका छन्। उनीहरू नेपालीपनको भाव, त्यहाँको क्वालिटी स्ट्यान्डर्ड र ग्लोबल डिजाइन सेन्सबीचको समिश्रण खोजिरहेका हुन्छन्।
’करुणा’ र ’जुजु’ — दुई दृष्टिकोण
उनीले सन् १९९७ मा सुरु गरेको ब्रान्ड ’करुणा’ ले हेम्प, ब्याम्बो र खद्दर जस्ता प्राकृतिक र अग्र्यानिक कपडालाई आधार बनाएर युरोप र जापानमा सशक्त उपस्थिति बनायो। त्यही अवधिमा उनले टिसर्ट ब्रान्ड ’जुजु वेर’ पनि सुरु गरे-जो कलात्मक प्रिन्ट र सन्देशमा केन्द्रित छ। ’जुजु’ विशेषगरी युवा पुस्तालाई लक्षित गरिएको छ, जहाँ फेसनसँगै विचारको समावेश छ।
स्वदेशी कपडाको पुनर्जागरण
नेपालमै उत्पादित कच्चा पदार्थको प्रयोग, नेपालमै बनाइएको डिजाइन, अनि नेपाली बजारलाई नै लक्षित गर्दै उनले उत्पादन बढाए। उनी भन्छन्, ‘नेपालमा अहिले ‘मेड इन नेपाल’ को मूल्य बढेको छ, विशेषगरी युवाहरूमा। उनीहरू नेपाली उत्पादनलाई गर्वसाथ अंगाल्न थालेका छन्।’ कोरोनाले केही असर पारेको भए पनि बजार बिस्तार हुँदै गएको उनको भनाई छ ।
विश्व बजारमा नेपाली पहिचान
स्विजरल्याण्डदेखि जापानसम्म उनका क्लाइन्ट छन्। कतिपय नेपाली उत्पादनको मूल्य बुझ्ने विदेशी व्यवसायीहरू नै उनको उत्पादन देश–देशमा बिक्री गर्दैछन्। उनी भन्छन्, ‘हामीले बनाउने कपडा सामान्यजस्तो लागे पनि त्यसको डिजाइन र कला नै हाम्रो बल हो।’
उनी नेपाललाई ’हिमालयन आर्ट हब’ को रूपमा देख्न चाहन्छन्। पाटनका गल्ली, विहार, मन्दिर र थाम्मा लुकेको कला उनले कपडामा उतारेर विश्व बजारमा पुर्याउने सपना बोकेका छन्।
प्रदीपमान शाक्यको कथा एउटा कपडा उद्यमीको मात्र होइन-यो एउटा संस्कृति–वाहकको पनि कथा हो। उनको यात्रामा दुःख, जोखिम र पुनःनिर्माणको छाया छ तर सँगै छ अडिग अठोट। नेपाली कपडालाई केवल एउटा लुगा होइन, एउटा चिनारी बनाउने सपना देख्ने प्रदीपमान शाक्य अहिले पनि आफैं डिजाइनमा लागिपरेका छन्। उनका डिजाइनहरूमा देखिने नेपाली आत्मा र अन्तर्राष्ट्रिय आत्मविश्वासको मिश्रण नेपाली उद्यमशीलताको एउटा उत्कृष्ट उदाहरण बनिरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्