काठमाडौं । सत्तापक्षीय राजनीतिक दलको आजको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरुको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा (एमाले) का उप महासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरिएको ज्ञवालीले जानकारी दिए ।
उपमहासचिव ज्ञवालीका अनुसार अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न, सुशासन र कार्यदक्षता बढाउन र बाह्य सम्बन्धलाई सुदृढ गर्न सुझाव दिइएको छ ।
यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक डाकेका हुन् ।
विद्यमान व्यवस्थामाथिको हमला र आक्रमणलाई सामूहिकरुपमा जवाफ दिने, बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी मेजर ब्रेक थ्रु गर्न त्यहीरुपमा बजेट ल्याउन नेताहरुले सरकारलाई आग्रह गरेका छन् । यस्तै, शिक्षक आन्दोलनबारे पत्रकारद्वारा सोधिएको नेता ज्ञवालीले सरकार र आन्दोलनकारी शिक्षकहरुसँग वार्ता भइरहेको र चाँडै सहमति भई सामुदायिक विद्यालय सञ्चालनको वातावरण बन्ने धारणा राखे ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए ।

















प्रतिक्रिया दिनुहोस्