तपाईँ हामीले सानै उमेरदेखि सुन्दै आएको नाम हो– ओखती साबुन । २०६५ सालदेखि नेपाली बजारमा एकछत्र राज गर्दै आएको जडिबुटीयुक्त साबुन ओखतीले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रभाव बनाउन सफल भएको छ ।
करिब दुई दशक लामो यो यात्रामा आइपुग्दा ओखती साबुनको नाम र काम पनि उस्तै सुनिन्छ । कुनै बेला साबुन मात्र बन्ने गरेको ओखतीको अहिलेको बजार अबस्था, उत्पादित बस्तु, भावि योजना र अबको रणनीतिका सन्दर्भमा केन्द्रित रहेर ओखती साबुनका सञ्चालक शोभाकान्त बस्यालसँग कर्पोरेट समाचारका लागि गरिएकाे कुराकानिकाे सम्पादिक अंशः
करिब दुई दशक लामो ओखती साबुनको उत्पादन यात्रा कसरी अघि बढ्दै छ ?
करिब दुई दशक अघिदेखि सुरुवात गर्दै आएको यो ओखती साबुनको आफ्नै नाम,काम र विशेषता छ । बुढापाकाले भन्दै आएको ओखती मुलोबाट बनेको ओखती नाम जस्तै काम पनि छ । त्यसमा हाम्रो यात्रा अहिलेसम्म केन्द्रित छ । ओखती भनेको नेपाली मौलिकताको एउटा पहिचान पनि हो । परम्परागत मौलिकपन हराउँदै गएको अबस्थामा त्यसलाई जीवन्त राख्नका लागि पनि यो नामले काम गरेको भन्ने लाग्छ ।
ओखतीलाई नाम मात्र दिएर हुँदैन्थ्यो, नाम अनुसारको काम पनि हुनपथ्र्यो । त्यसैले यसलाई हामीले हाम्रै देशका जंगलमा भएका जडीबुटीको प्रयोगबाट ब्रान्डिङ गर्ने काम गरेका छौं । ओखतीलाई बास्तविक ओखतीमा जीवन्त बनायौं । सुरुमा हामीले साबुन बनायौं । त्यो पनि विशेषगरी छालासम्बन्धि स्वास्थ्यसँग जोडेर अनुहार, शरिरका सानातिना खटिरा र कपाललाई फिट हुनेगरी छुट्टाछुट्टै रुपमा साबुन बनायौं । साबुनपछि हामीले ‘स्याम्पु’ बनायौं । बजारमा रसायनयुक्त प्रोडक्टहरु छ्यास् छ्यास्ति मात्रामा रहेको स्थितिलाई विश्लेषण गर्दा हामीले आफ्ना आर्युवेदिक उत्पादनमा ‘लिप बाम’ बनायौं जसमा ‘च्युरी बटर’ लगायतका स्वदेशी सामग्री प्रयोग गरि बनाएका छौं। साबुनसँगै हामीसँग अन्य विभिन्न ५ देखि ७ वटा उत्पादनहरु आज बजारमा ओखतीका ब्रान्डहरु देखिन्छन् ।
ओखती स्वदेशी ब्रान्ड बनिसकेको छ। यसलाई निरन्तरता दिई राख्न, त्यो पनि जडिबुटी जस्तो बस्तुमा सम्भव छ ?
हामीले दुई दशक नजिकको यात्रा गर्दै गर्दा यसको पछाडि कम्पनीप्रति हामीले गरेको अथाह मिहेनत नै हो । साना कम्पनीहरुमा अघि बढ्ने पछाडि धकेलिने भइरहेकै हुन्छ। हामीले दिने उत्पादन, बजारीकरण र उच्चस्तरीय व्यवस्थापनले अहिलेसम्मको यात्रा सम्भव भएको हो । अहिले देशको अबस्था विगतको जस्तो उत्साहित छैन । युवा जनशक्ती ठुलो संख्यामा बाहिरिएका छन् । आर्थिक मन्दीले समग्र बजारलाई सुस्त बनाइरहेको छ यसबाट पनि ओखती साबुन पनि अछुतो छैन। घट्दो जनसंख्याले विगतको जस्तो सन्तुष्ट भएर काम गर्ने अबस्था छैन। हाम्रो उत्पादन जुन वर्गलाई हामीले लक्षित उत्पादन गछौं, त्यो मध्यम परिवारको संख्या ठुलो संख्यामा बाहिरिएको अबस्था छ । विदेश पुगेका मध्ये पनि युरोप अमेरिका गएकाहरु उतै बस्ने हुँदा उत्पादित वस्तुको प्रयोग गर्ने लक्षित वर्ग नै नरहने हुन कि भन्ने आशंका उत्पन्न भएको छ ।
अर्को तपाईले निरन्तरताको कुरा गर्नु भयो, पक्कै पनि यो सजिलो छैन । तर, ‘ओखती’ आजको दिनमा बाहिरबाट हेर्दा ब्रान्ड होला तर, यो ब्रान्ड मात्रै होइन नेपालको मौलिकता र नेपाली नेचर हो । नेचर किन हो भने हामीले प्रयोग गर्ने सबै आयुवेर्दिक वस्तु नेपाली भूभागमा पाइने हुन् । जस्तोः च्युरी, सिटोनेला, मेन्था, लेफोनोग्रास, रोजमेरी, अमला, तितेपाती जस्ता जडिबुटी सबै नेपालमै पाइन्छन् । तर, शतप्रतिशत सबै नेपालमै पाइने चिज मात्र प्रयोग गर्छौै भन्ने पनि होइन, हामीले कोकोनट वेल, गिलसिरिङ जस्ता वस्तु हामीले साबुनमा प्रयोग गर्नुपर्ने हुन्छ, शतप्रतिशत नेपाली चिज राखेर साबुन लगायतका सामग्री बनाउने सम्भावना पनि हुँदैन। तर, नेपालमा पाइने जडिबुटिको प्रयोग अधिक गरेका छौं, एउटा साबुनमा ७० प्रतिशत नेपाली कच्चा पदार्थको प्रयोग हुन्छ । सायद हामीलाई लामो समयदेखि ग्राहकहरुले भरोसा गर्नुको कारण पनि यही हो । हाम्रो नेचुरल जडिबुटिका तेलहरुको प्रयोग र राम्रो क्वालिटीको समिश्रणले नै यहाँसम्म ल्याएको हो ।
हामीले उत्पादन गर्नका लागि कच्चा पदार्थ पर्याप्त छन् त ?
हर्बलजन्य सामग्री उत्पादन गर्दा कच्चा पदार्थमा हामीले अरुमा निर्भर रहनुपर्ने हुन्छ । हामी खासगरी किसानसँग निर्भर छौं । त्यो हुँदा किसानहरुले आफ्ना उत्पादन कसलाई कतिमा दिने भन्ने कुराले हामी जस्ता कम्पनीलाई असर गरिराखेको हुन्छ । किसानले उत्पादन गर्ने भनेकै बेच्नलाई हो, हामीले एक हिसाबले किनिराखेका हुन्छौं तर, बाहिरबाट आउनेले मूल्य बढाएर किनिदिँदा हामीले त कच्चा पदार्थ नै नपाउने अवस्था आउँछ ।
हामीलाई क्वालिटीकै कारण ग्राहकले विस्वास गर्नुभएको छ । तर मन पराए भन्दैमा हामीले जे पायो त्यही कच्चा पदार्थ प्रयोग गरेर ग्राहकमाथि अन्याय गर्नुहुँदैन । हाम्रो आफ्नै गुणस्तर छन् । कच्चा पदार्थलाई मध्यनजर गरेरै हामीले आफ्ना उत्पादनलाई बढाउँदै ल्याउने क्रममा आजको दिनमा आइपुगेका हौं । कच्चा पदार्थ नै ‘ओखती’ ब्रान्डको मुटु हो । त्यसैले कुनै नयाँ प्रोडक्ट बनाइहालौं भनेर सोच्दा हामीले त्यस पछाडिको उक्त वस्तुको निरन्तरतालाई धेरै सोच्छौं ।
आज बजारमा प्रोडक्ट ल्याएर केही समयपछि कच्चा पदार्थ जुटाउन सकिएन भने त्यसले कम्पनीलाई पनि नराम्रो पार्छ । त्यसैले साबुन, लिपबाम, चार वटा भेराइटिको फेस वास र ट्रिटमेन्ट, सन स्क्रिन क्रिमहरु, चायाँ पोतो, डन्डिफोर जस्ता समस्याहरुको लागि छुट्टाछुट्टै ट्रिटमेन्ट क्रिमहरु सँगै विभिन्न प्रोडक्ट बजारमा छन् । मुख्य फोकस छाला रोगलाई केन्द्रित नै हो । स्याम्पु नै बनाउँदा पनि हामीले चायाँको लागि, कपाल झरेको रोक्नका लागि फरक फरक छन् । फेस वासमै पनि चार पाँच वटा भेराइटि छन् । यी सबै भर्खरै आएका हुन् । साबुन पछि भिक्स र लिप बामले मार्केटबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।
आजभोली सानो पुँजी भएका कम्पनीले पनि आईपिओमा जाने र आम पब्लिक वा अन्य कम्पनीसँग मिलेर ठूलो लगानी जुटाउने प्रचलन बढ्दो छ । तपाईंहरुले आईपिओमा जानेबारे सोच्नुभएको छैन ?
हामी यो बारेमा आन्तरिक छलफल सुरु भएको छ । कसरी जाने, यसको पुँजी कति पुर्याउने भन्ने बारे तयारी हुँदै छ । हामी भविष्यमा आईपीओमा जान्छौं । हाल कम्पनीको कूल भ्याल्यु ४ करोडको भन्दा बढीको छ ।
ओखतिको बजारलाई लिएर अबको मुख्य रणनीतिहरु केके छन् ?
हामीले भर्खरै र एक वर्ष पहिले ल्याएका उत्पादनलाई बजारमा कसरी लैजाने भन्नेतिर नै अहिले मुख्य जोड दिएर लागेका छौं । विदेशी ब्रान्डहरु बजारमा यत्रतत्र छन् हामीले आफ्नो मौलिक उत्पादनलाई कसरी विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने गरी बजारलाई बलियो बनाउन सक्छौं भन्नेबारे वातावरण निर्माण गर्न लागिपरेका छौं । त्यसका लागि आफ्नो उत्पादनको गुणस्तर कायम गर्ने कुरामा दृढ भएर लागेका छौं । सँगै हाम्रा उत्पादन केही मात्रामा विदेश निर्यात हुँदै आएका छन्, त्यसलाई अझ कसरी विस्तार गर्न सकिन्छ भन्नेतर्फ पनि सोचेर केही काम गरेका छौं । अमेरिका, युरोपका केही देशहरु, सिंङ्गापुर, युएई, चाइना लगायतका १२ वटा देशमा हाम्रा सामग्री निर्यात हुँदै आएका छन् । वार्षिक दुई करोड रुपैयाँसम्मको सामान निर्यात भएको छ ।
पछिल्लो समय बजारमा आर्थिक मन्दी नै छाएको छ । बाहिर हेर्दा अर्थतन्त्र, बजारमा धेरै मन्दीको प्रभाव परेको देखिए पनि हाल सबैभन्दा धेरै मन्दीको प्रभाव उत्पादनमूलक क्षेत्रमा आधारित कम्पनीहरुमा छ । यी कम्पनीहरुको ५० प्रतिशत सम्म बजार घटेको छ । कतिपय धरासाही भएर बन्द हुने अवस्थामा पुगेका छन् । हाम्रो पनि कोभिड पछि तलमाथि हुने क्रम जारी थियो । तर, तत्काल केही घटेपनि, विस्तारै बजारले गति लिन थालेको छ । आर्थिक मन्दीको प्रभावले हुन सक्छ, बजार ४० प्रतिशले घटेको छ ।
हाम्रो उत्पादन दैनिक प्रयोग हुनेमा पर्छन् कसरी बजार घट्यो भन्ने लाग्ला तर, गाउँमा युवा भन्दा धेरै वृद्धवृद्धा छन् उनिहरुलाई साबुन हुँदा लगाइदिने नहुँदा पनि फरक नपर्ने, शहरमा भएका युवा जो हाम्रो प्रोडक्टको मुख्य लक्षित वर्ग हुन् उनिहरुको विदेश पलायन झन् बढ्दो मात्र छ । यहाँ भएका थोरै युवामा पनि कसरी दैनिकी टार्ने कसरी अलिकति पुँजी जम्मा गरेर विदेश जाने भन्ने सोचमा छन्, यहाँ खर्च गर्ने क्षमता नै कम भैसकेको छ । सेल्स घट्नुमा एक कारण यो पनि हो । अर्को आर्थिक मन्दीको प्रभावले बजार खुम्चिएकै हो । हाम्रा उत्पादनहरुमा १० रुपैयाँको साबुन देखि ५० रुपैयाँ पर्ने साबुन पनि छन् । बजारमा रहेका अरु साबुनको अनुपातमा हाम्रा साबुनहरुको रेट माथि हुनुपर्ने हो । तर, बाहिर पाउने डिटोलकै रेटमा हाम्रा साबुनहरु बजारमा पाइन्छ । नेपालीहरुमा विदेशी विभिन्न रसायनयुक्त वस्तुको प्रयोग गर्ने भन्दा पनि स्वदेशी ब्रान्ड र नेचुरल प्रोडक्ट प्रयोग गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि हुनुपर्छ भन्ने लाग्छ । स्वदेशी सामग्रीको प्रयोग आफना देशवासीले गर्न थाले भने मात्र नेपाली अर्थतन्त्र बलियो बन्दै जाने न हो । अहिले त नेपाली पैसा बाहिर गैरहेको छ ।
मूल्यको हिसाबले कति देखि कतिसम्म रहेका छन्?
मूल्यको हिसाबले हाम्रो धेरै ठुलो छैन । हामीले मार्जिन राख्ने भनेको ५ देखि ८ प्रतिशत मात्र हो । त्यो पनि ठूलो मात्रामा जाने सामग्रीहरुको पेमेन्ट तत्काल हुँदैन । एक महिना मात्र पेमेन्ट होल्ड भयो भने पनि हामीले राखेको मार्जिन माइनसमा जान्छ । हाम्रो ग्राहक नै मध्यम वर्गका छन् । गाउँ र शहर दुवै केन्द्रित छन् । रोजगारिको हिसाबले अहिले हामी एक सय जना यस कम्पनीमा आबद्ध छौं ।
नयाँ बजेट ल्याउन नीति कार्यक्रम तय हुँदै छन्, साना उद्योगका लागि सरकारको कस्तो नीति आउनुपर्छ भन्ने आवश्यक ठान्नुहुन्छ ?
राज्यको अस्तिरता र अगाडी आएका नीतिले नै हो हामीलाई मुख्य समस्यामा पारेको । अर्थमन्त्री आउनासाथ पोलिसि फेरिन्छ । त्यसको प्रत्यक्ष प्रभाव अन्तशुल्क र भ्याट बढाउने कुराहरुमा देखिँदै आएका छन् । मानिसको स्वास्थ्यमा असर पार्ने धुम्रपान, मध्यपान जस्ता कुराहरुमा सरकारले लगाउने शुल्क हामीले अहिले साबुनमा अतिरिक्त शुल्क भनेर तिरिरहनु परेको छ ।
साबुन मानव स्वास्थ्यको लागि रक्सी चुरोट सरह हानी गर्ने वस्तु कि दैनिक जीवनमा आवश्यक पर्ने कुरा देशमा चरम बेरोजगारी बढ्ेको छ, कोभिडपछि अर्थतन्त्र नै खुम्चिएको छ, यस्तो बेलामा हामीलाई राज्यले ८ \१० वर्ष भ्याट छुट गरेर काम गर्ने वातावरण बनाइदिनुपर्नेमा दैनिक प्रयोग हुने दन्त मञ्जन, लिपबाम, साबुन जस्ता कस्मेटिक वस्तुमा अतिरिक्त शुःल्क लगाएर देशमा उत्पादनमूलक क्षेत्रमा काम गर्ने युवालाई निराशातिर सरकारले धकेल्नु उचित होइन, गैरजिम्मेवारी हो ।
यो गैरजिम्मेवारीको दोषी मेरो नजरमा पहिलेको अर्थमन्त्री युवराज खतिवडालाई मान्छु । देशमा साना उद्योग सिध्याएको युवराज खतिवडाले नै हो । उहाँ अर्थमन्त्री हुनुपूर्व कस्मेटिकमा अन्तशुल्क लगाइएको थिएन । जब उहाँले शुरु गर्नुभयो त्यसपछि साना उद्योगहरु धेरै बन्द भए । ठूला कम्पनीले उहाँलाई ट्याक्स राम्रो तिरे होलान तर, उहाँले साना घरेलु उद्योगहरुलाई अन्तशुल्कमा नराखेर विदेशबाट आयातित वस्तुहरुमा मात्र लगाइदिएको यहाँका उत्पादनलाई असर पर्दैन थियो । हाम्रो ग्राहकले पहिले शुल्क हेरेर वस्तु किन्छन्, यस्तोमा अतिरिक्त कर थपिदा त्यसले साना उद्योगलाई असर गरेकै हो ।
राज्यले उत्पादनलाई हेरेकै छैन, उसले कति आम्दानी भयो वा कुन व्यवसायबाट हुन्छ भन्ने चिजमा मात्र ध्यान दिन्छ । उत्पादनमूलक क्षेत्रको कुरा सुनेकै छैन राज्यले जबसम्म मध्यम तहका नागरिकको आम दैनिकी खर्च र उत्पादनमूलक कम्पनीको अवस्था बुझ्न सक्दैन वा खोज्दैन तबसम्म हाम्रो हालत यस्तै नै रहन्छ । तल्लो र मध्यम वर्गीय जीवन यापन गरिरहेका जतिपनि नागरिक छन् उनिहरु अहिले चरम निराशाको अवस्थामा छन्, एक छाक खानेकुरा जोहो गर्न सोच्नुपर्ने अवस्था छ, लग्जरीमा कसरी खर्च गर्न सक्छन् ? राज्यले यो विषयलाई मतलब नै गरेको छैन ।
यसैगरी निराशा बढ्ने हो भने हाम्रो हालत यो भन्दा बढी नराम्रो हुनेछ । साना व्यवसाय गरेर बसेकाहरु बन्द गरेर विदेश गएका छन्, सरकारी जागिर छोडेर विदेशिने नागरिक धेरै देखिए यो मानसिकता सरकारले परिवर्तन गर्ला ?
हामी पनि निराशामा छौं । उत्पादनमूलक क्षेत्रका साना उद्योगी व्यवसायी अहिले एक वर्ष सकिन्छ कि दुई वर्ष भनेर बसेका छन् । हामीलाई नीतिबाटै थिच्दै आएको राज्यले प्रोत्साहन दिने कुरा परको भयो अब यसरी सोच्न थालेका छौं कि यही अवस्था रहने हो भने हामी पनि एक दिन कम्पनी बन्द गरेर विदेशिने प्लान बनाउन थाल्नुपर्छ । दुई चार वर्षको कुरा हो यो, ठेगान छैन । अहिलेको अवस्थामा हामी जस्ता साना उद्यमी व्यवसायीका लागि मुख्य बल भनेकै सरकारले ल्याउने नीति कार्यक्रम हो । त्यसले सकारात्मक वा नकारात्मक कस्तो माहोल बनाउँछ भन्नेमै हाम्रो नजर छ । नीति कार्यक्रम आउँदा यो बेलामा कमसेकम राज्यले उत्पादनमूलक क्षेत्रका समस्यालाई बुझेर केही राहत दिनेगरी सोच्नुपर्छ ।
निराशाका कुरा धेरै भए कम्पनीको पाँच वर्षको अपेक्षा कस्तो छ ?
यही प्रश्नको उत्तरमा पनि आशा जगाउन मैले आगामी सरकारको नीति कार्यक्रम र बजेटलाई कुर्नुपर्ने हुन्छ । राज्यले तयार पारेको वातावरण यस्तो नकारात्मक छ, जहाँ उत्पादनमूलक कम्पनीहरुले अहिले पाँच वर्षको होइन दुई वर्षको योजना बनाएर आफूलाई टिकाए भने त्यो ठूलो कुरा हुनेवाला छ । दिर्घकालीन लक्ष्य बनाएर काम गर्ने वातावरण नै नेपालमा छैन । हामी आफैं जोखिममा छौं । मार्केट खुम्चिएको छ, बैंकहरुको ऋण तिर्ने कि राज्यको अन्तशुल्क भ्याट? यी सबै हेर्दा नाफाभन्दा पनि घाटामा छन् व्यवसायीहरु । सधैंभरी एक व्यवसायीले माइनसमा काम गर्न त सक्दैन । पैसा बच्यो भने न लगानी जुटाउँदै बढाउँदै लैजाने हो काम गर्ने हो, घाटामा डुब्ने भन्दा अर्को क्षेत्रमा लाग्ने हो । वर्तमान समयमा यो क्षेत्रका सबै पलायन हुनेतर्फ सोच्दै छन् ।
हाम्रो पनि यसलाई निरन्तरता दिने कि ब्रेक गर्ने भन्ने सोचिराखेका छौं । राज्यले राम्रा नीतिहरु ल्याएर अलिकति भएपनि प्रोत्साहन गर्यो, कम्तिमा व्यवसायीले काम गर्न सक्ने वातावरण सिर्जना गर्यो भने निरन्तरता दिने हो । त्यो वातावरण बनेन भने हामी जुन सुकै बेला व्यवसाय बन्द गर्न सक्छौं । व्यवसायीले पनि राज्यले के दियो र के दिएन भन्दा पनि कतिसम्म गर्न सकिन्छ भन्नेमा फोकस गर्ने बेला आएको छ । देशमा राजनीतिक माहोलले वा पोलिसी मेकरहरुका कारण यो वा त्यो भएन भनेरै मात्र पनि विकास त हुँदैन । हामी सबैले नेपाली उत्पादनलाई सकेजति माया गर्नुपर्छ भन्ने लाग्छ । आफ्नो मनले खाएको राम्रो प्रोडक्टलाई माया दिनुहोस्, स्वदेशी वस्तुको प्रयोगमा जोड दिऔं । विदेशबाट फर्किएकाहरुको सीप यही प्रयोग गर्ने वातावरण बन्ने, युवा पलायन कम्तिमा घट्ने सकारात्मक सन्देश जाने गरी अबको नीति कार्यक्रम आउनुपर्छ भन्ने लाग्छ ।

















प्रतिक्रिया दिनुहोस्