Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार
विज्ञापन
Advertisement

बागलुङ । बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ । धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्दछ । यहाँ जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका हुन् ।

अहिले मन्दिर निर्माणको चरणमा रहेको छभने गाजा दहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुलासहितको पूर्वाधार गत वर्ष निर्माण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ ।

ताल वरपर परम्परागत शैलीमा ढुङ्गा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकमसमेत सङ्कलन गरिएको जैमिनी–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए ।

उनले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सामान्य सहयोग गरे पनि थप पूर्वाधार निर्माणका लागि महायज्ञमार्फत रु ७२ लाख सङ्कलन गरिएको जानकारी दिए। उनका अनुसार अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको छ । स्थानीयको रु १० लाख र महायज्ञको रु १० लाख गरी रु २० लाखको लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको उनले बताए ।

‘गत वर्ष रु तीन लाखको लागतमा नगरले दहमा दृश्यावलोकनस्थल निर्माण गरेको थियो । अहिले सिद्ध बराहको मन्दिर निर्माण थालिएको छ, पदमार्गसहित संरचना थपिएका छन् । पूर्वाधार थपिँदा शौन्दर्यकरणमा वृद्धि भएको छ, ताल संरक्षण मुख्य चुनौती हो’, भुजेलले भने, ‘धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस दहमा आन्तरिक पर्यटकको आगमन वृद्धि भएको छ । अहिले गुराँसको वनभित्रको ताल मनमोहक देखिन्छ ।’

गाजा दहमा सदरमुकाम बागलुङ बजारबाट २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ । यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् । गाजादहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत एक दर्जन हिमऋङ्खला देख्न सकिने यहाँ पुग्नुभएका हिमाल सुवेदीले बताए । उनले दह पुग्ने सडक थप स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।

सिँगानासम्म कालोपत्र सडक पुगे पनि त्यहाँबाट १४ किमी स्तरोन्नति हुन बाँकी छ । हरेक वर्ष सिद्धथानमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा परम्परागत मेला लाग्ने भएकाले दहको महत्त्व बढ्दै गएको वडाध्यक्ष भुजेलले उल्लेख गरे । ‘यहाँ बाला चतुदर्शीमा सतबिज छर्नेको घुइँचो लाग्ने गर्दछ । चिसो हावापानीमा गाजा दहको काखमा बसेर घरबासको स्वादिष्ट परिकार खान पाउने व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेश सरकारले दहलाई एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ’, उनले भने ।

महायज्ञमा सङ्कलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। उनले दहको प्रचारप्रसार र प्रवर्द्धनमा पालिकाले सघाउँदै आएको उल्लेख गरे। धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको दहको समग्र विकासका लागि पालिकाले गुरुयोजना बनाउने उनले जानकारी दिए ।

प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको हो । दहको धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, संरक्षण गर्दै ताल परिसरमा सिद्ध बराह भगवान्को पूर्णकदको मूर्ति निर्माण गर्नेलगायत उद्देश्य बनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit