काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोडारीले एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले सोडारीले सार्वजनिक पदधारण गरेको मिति ०७४ माघ ७ गतेदेखि ०७९ फागुन १० सम्मको अवधिमा उनले गरेका आयआर्जनको अनुसन्धान गरेको थियो । जसबाट सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री सोडारीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको देखिएको छ ।
उनको वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा देखिएको थियो । तर, उनले सो समयमा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ रकम आर्जन गरेका थिए ।
जाँच अवधिको कुल आयबाट सोही अवधिको कुल खर्च तथा लगानी घटाउँदा एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसाले कुल आयभन्दा कुल व्यय अधिक हुन गई सोहीबराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ ।
‘सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबी सोडारीको नाममा जग्गा खरिद, घर निर्माण गरेको देखिएको छ । यसैकारण सोडारीको श्रीमती र छोरालाई भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी बनाइएको हो ’अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

















प्रतिक्रिया दिनुहोस्