Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नगरकोटमा महिला पत्रकार र व्यवसायीबीच पर्यटन प्रवद्र्धनमा सहकार्यको सन्देश

नगरकोटमा महिला पत्रकार र व्यवसायीबीच पर्यटन प्रवद्र्धनमा सहकार्यको सन्देश
विज्ञापन
Advertisement

नगरकोट – नगरकोटका पर्यटन व्यवसायीहरूले पर्यटन प्रवद्र्धनमा महिला पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। सञ्चारिका समूह नेपालको आयोजनामा र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजित एकदिने गोष्ठीमा “महिला पर्यटन व्यवसायीको संघर्ष र सफलतामा महिला पत्रकारको भूमिका” विषयमा छलफल भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा नगरकोट नालुङ पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले महिला पत्रकारहरू कुनै पनि विषय गहिराइपूर्वक लिन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा उनीहरूको विशेष भूमिका हुने बताए। “सधैँ पुरुष पत्रकार मात्र आउँथे, यस पटक महिला पत्रकारहरूको समूह नगरकोट आएको देखेर निकै खुसी लागेको छ,” उनले भने, “महिलाहरूले विषयलाई संवेदनशील ढंगले बुझ्ने र प्रस्तुत गर्ने क्षमता राख्छन्, पर्यटन प्रवद्र्धनमा त्यसले ठूलो प्रभाव पार्छ।”

गुरुङले नगरकोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको चर्चा गर्दै नगरकोटलाई गहिराइमा पुगेर पत्रकारहरूले उजागर गरे यस क्षेत्रको समग्र पर्यटन थप समृद्ध हुने विश्वास व्यक्त गरे। नगरकोटमा सस्तोदेखि महँगासम्मका होटल, रिसोर्ट, रेष्टुराँ तथा लजहरू पर्यटक सेवा प्रदान गरिरहेको जानकारी दिँदै उनले नगरकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सञ्चार माध्यमको भूमिका अपरिहार्य रहेको बताए।

महिला पर्यटन व्यवसायी लक्ष्मी गुरुङले आफूले दुई रुपैयाँको चियापसलबाट सुरु गरेको व्यवसाय आज करोडौंको सम्पत्तिमा रूपान्तरण भएको अनुभव सुनाइन्। आत्मीय सेवा, अर्गानिक खाना र स्थानीय संस्कृतिको महत्वबारे उनले जोड दिँदै भनिन्, “पर्यटन व्यवसायले महिलालाई आत्मनिर्भर बनाउँछ।” महिला पत्रकारसँग व्यवसाय र पर्यटनको सम्बन्धमा प्रत्यक्ष संवाद गर्न पाउँदा उत्साहित भएको उनले बताइन्।

यस्तै, पर्यटन व्यवसायी रेनु तामाङले चियापसलबाट सुरु भएको आफ्नो व्यवसाय अहिले रेष्टुराँ र होटलमा विस्तार भएको अनुभव साझा गरिन्। पारिवारिक सहयोग र निरन्तर परिश्रमले आफू सफल भएको बताउँदै पर्यटन क्षेत्रले महिलाको जीवन परिवर्तन गर्ने सम्भावना बोकेको धारणा राखिन्।

कार्यक्रममा बोल्दै पर्यटन प्रहरी सन्तोष नेपालले नगरकोटमा पर्यटकका लागि समग्र सुरक्षा व्यवस्थापन सन्तोषजनक रहेको बताए। सामान्यतया मोबाइल वा पासपोर्ट हराउनेजस्ता केही घटना बाहेक गम्भीर समस्या नदेखिएको जानकारी दिँदै उनले नगरकोटलाई सुरक्षित पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सुरक्षा निकायहरू सधैं सतर्क रहेको उल्लेख गरे।

सञ्चारिका समूह नेपालकी पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले महिला पत्रकारहरू अब केवल समाचार कभरेजमा सीमित नरही विश्लेषक, सम्पादक र कथा–लेखकको भूमिकामा देखिन थालेको बताइन्। उनले नगरकोटको भ्रमण महिला पत्रकारका लागि फरक अभ्यासको थलो बनेको बताउँदै, सञ्चारिकाको नयाँ नेतृत्वले विगतका प्रयासलाई अझ नयाँ ढंगले अघि बढाउने विश्वास व्यक्त गरिन्।

सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले पर्यटन प्रवद्र्धनमा महिला पत्रकार र व्यवसायीबीचको सहकार्यले समावेशी पर्यटन विकासमा योगदान दिने विश्वास व्यक्त गरिन्। पत्रकार महिलाहरूले पर्यटन व्यवसायीका कथा, चुनौती र सम्भावनालाई उजागर गरेर समाजमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी, पर्यटन प्रहरी तथा पत्रकारहरूले डिजिटल मिडिया प्रयोग, दुर्गम क्षेत्रमा रिपोर्टिङका चुनौती, लिङ्गीय पूर्वाग्रहका कारण अवसरमा असमानता, र पत्रकारिता अभ्यासमा तालिम तथा फेलोशिपको आवश्यकता जस्ता विषयमा धारणा राखेका थिए।

कार्यक्रमको अन्त्यतिर सञ्चारिका समूह नेपालले आगामी पाँच वर्षका लागि रणनीतिक योजना निर्माणको प्रस्ताव पनि प्रस्तुत गरेको थियो। उक्त सत्रमा पूर्वअध्यक्ष बबिता बस्नेत, भिम भूर्तेल, सन्तोष सिग्देल, लक्ष्मी पोखरेललगायत विज्ञहरूले सुझाव दिएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit