काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रुपको अगुवाइमा मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।
यो सँगै आइएमई ग्रुपले नयाँ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आइएमईको हाइड्रो सपोर्ट प्रालीले ६६.३ मेगावाट मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । उक्त आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङमा निर्माण गरिने भएको हो ।
आयोजनाबाट अन्नपूर्ण गाउँपालिका ३ र ४ को सिमाना सुकेबगरमा बाँध, ४ किलोमिटर ३१९ मिटर सुरुङ र वडा नं २ को सुकेबगरमा भूमिगत विद्युतगृह प्रस्ताव गरिएको छ । जसबाट अन्नपूर्णको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित बन्ने छन्।
मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा प्रभावित क्षेत्रका बासिन्दाले तातोपानीको मुहानमा असर नपुग्ने गरी आयोजना बनाउन माग गरेका छन् । आयोजना प्रभावित क्षेत्रमा भुरुङ र पाउद्वार तातोपानीको कुण्ड रहेकाले त्यसमा असर पार्न नहुने माग स्थानीयको छ ।
स्थानीय जनप्रतिनिधि र बासिन्दा तथा अगुवाले तातोपानी कुण्डलाई असर नपुग्ने वैज्ञानिक आधार नभएसम्म आयोजना अघि नबढाउन आग्रह समेत गरेका छन् । आयोजना निर्माण गर्दा कालीगण्डकीको सभ्यता र संस्कृतिलाई बचाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । हाइड्रो सपोर्टका अध्यक्ष चन्द्र ढकालले तातोपानी कुण्डमा असर नपर्ने गरी तातोपानीको मुहान बचाउने प्रतिबद्धता जनाए ।
वातावरणीय असर न्यूनीकरण र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत ९ करोड ७० लाख २४ हजार रुपैयाँ विनियोजन गरेको कम्पनीले जनाएको छ । कूल १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार ७३० रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको ०.७५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने गरी प्रस्ताव भएको छ ।

















प्रतिक्रिया दिनुहोस्