Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर, ९८ प्रतिशत मानिस गाउँ छोडेर बाहिरिए

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर, ९८ प्रतिशत मानिस गाउँ छोडेर बाहिरिए
विज्ञापन
Advertisement

काठमाडौं । बाँदरले दिएको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताए । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उनले बताए । साविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उनले बताए ।

अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उनले बताए । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताए ।

“स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ”, शिक्षक पराजुलीले भने, “मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।”

विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उनले बताए । “गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ । मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उपद्रो बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।”

बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताए । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उनले बताए । अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उनको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेका छन् ।

उनले भने, “म पनि यहाँ अर्काको घरमा ठेक्का बसेको छु । यहाँका सबै घर बिक्री नगरी त्यत्तिकै छाडिदिँदा भत्किएर खण्डहर बनेका छन् । मानिस बस्ती छाडेर हिँड्दा उर्वरभूमि बाँझिएको छ । यहाँका जम्मा ३५ घरमा अहिले दुई घरमात्र छौँ ।”

सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उनको अनुभव छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उनले बताए । सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उनको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ ।

राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताए । बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेको उनी बताउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit