कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन्।
आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने जानकारी दिए । “दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,” उनले भने, “यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ ।” उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको धारणा राखे ।
कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको उनको भनाइ छ । “महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन् । जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ,” गृहमन्त्री लेखकले भने ।
यस्तै उनले वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए ।















प्रतिक्रिया दिनुहोस्