काठमाडौं । देशले नागरिक सरकारको रुपमा पहिलो महिला प्रधानमन्त्री पाएको छ । ताजा जनादेशमा जानका लागि ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउने र त्यतिन्जेल शासन सञ्चालन गर्ने गरी पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा आज अन्तरिम सरकार गठन भएको हो । पूर्व प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी सुशीला कार्की पहिलो महिला अन्तरिम प्रधानमन्त्री नियुक्त भएसँगै नयाँ सरकार प्रमुखको इतिहास रचिएको हो । यो राष्ट्रकै लागि गौरवको क्षण पनि हो ।
यसअघि न्यायपालिकामा सर्वाेच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएकी कार्कीले अवकासको करिब ८ वर्षपछि कार्यपालिकामा पनि पहिलो महिला प्रधानमन्त्रीको रुपमा देशको बागडोर सम्हालेकी छिन् । शुक्रबार राती कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । परिवर्तनकारी (जेनजी) ले रुचाएको पात्र उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले देश नेतृत्वविहीन बनेको चौथो दिनमा ४२ औं प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद् गठनसम्बन्धी संवैधानिक धारालाई पन्छाउँदै पौडेलले ‘संविधानको संरक्षक’ को भूमिकामा संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा–६१ मा रहेको राष्ट्रपति सम्बन्धी व्यवस्थालाई आधार मानेर पौडेलले उनलाई नियुक्त गरेका हुन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ लाई टेकेर राष्ट्रपतिले संकट टारेका छन् । उक्त धारामा नेपालको राष्ट्राध्यक्ष हुने र राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था रहेको छ । उनले उत्पन्न दबाबपूर्ण परिस्थिति सामु देशलाई निकास दिन नेपालको संविधानको धारा ७६ को सट्टा धारा ६१ को अधिकार प्रयोग गरी कार्कीलाई नियुक्त गरेका हुन्। नयाँ संविधान जारी भएपछि धारा ७६ बाहेक अन्य धाराबाट प्रधानमन्त्री नियुक्त भएको यो पहिलो ऐतिहासिक घटना समेत हो ।
देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, सुशासन नहुँदा आजित बनेका नेपालीको आवाज बनेको (जेनजी) समुहले त्यसको विरुद्धमा सडक आन्दोलन थालेको ३६ घण्टा नबित्दै केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार ढालिदिएका थिए । सोमबार (भदौ २३) मा सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा र भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएर सडमा पुगेका जेनजी युवामाथि सरकारले अत्याधिक बल प्रयोग गर्यो । उक्त दिन नागरिकको शान्ति, सुरक्षाको लागि लिएको शपथलाई सत्ता शत्तिको आडमा पाइतालामुनि पुर्याउने गरी सरकार नागरिकमाथि प्रस्तुत भयो । सुरक्षा निकायको व्यापक बल प्रयोगले शान्तिपूर्ण आन्दोलन गरिरहेका १९ युवाले सोमबार नै देशका लागि छातीमा गोली खाए । कलिला बालकदेखि युवालाई टाउको र छातीमा ताकेर निर्मम गोली प्रहार हुँदा उनिहरु सदाका लागि सडकमै ढले ।
सरकारले बल प्रयोग गर्दा युवाको रगतले सडक मात्रै रातो बनेन् विश्व जगतकै लागि उदाहरण हुने गरी यो आन्दोलनले आज नयाँ इतिहास रचेको छ नै यसलाई हामी सबैले संयमतापूर्वक जोगाउनुपर्ने आवश्यकता पनि उत्तिकै देखिन्छ । मंगलबार जेनजीको नाममा घुसपैठ भएपछि हिंसा मच्चिएको थियो । देशभर जनधनको अपुरणीय क्षति भयो । बुधबार र बिहीबार समेत हिंसा नरोकिँदा आन्दोलनमा शुक्रबार साँझसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । १७ सय ७१ जना घाइते भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । प्रमुख संवैधानिक निकाय, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकादेखि सडकमा आगो बल्दा सरकार ढल्यो र देश शून्यतामा पुगेको थियो । निवर्तमान दुई तिहाइको सरकार ढालेको चौथो दिन औपचारिक रुपमा देशले निरासा र संसयबीचमा नयाँ अन्तरिम प्रधानमन्त्रीको रुपमा कार्कीलाई पाएको छ ।
एउटै दिन दुई इतिहास
देशले सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश भैसकेको एक ऐतिहासिक पात्रलाई पुनः अन्तरिम प्रधानमन्त्रीको रुपमा पाएको छ । यो इतिहास नेपालीको लागि रातो र चन्द्र सूर्य कायम रहेसम्म सदा रहने नै छ ।
छ दशक लामो न्याय इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेर कार्कीले यसअघि २०७३ असार २७ गते शपथ लिएकी थिइन् । उनले २०७४ जेठ २४ गतेसम्म यो पद सम्हालेकी थिइन् । निडर र हक्की स्वभावकी उनी आफ्नो कार्यकालमा भ्रष्टाचार मुद्दामा कडा रुपमा प्रस्तुत हुँदै आएकी थिइन् । तत्कालिन समयमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश कार्कीलाई ०७२ चैत २८ गतेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताका आधारमा कार्कीलाई देशमा उत्पन्न शंकट मोचनका लागि नागरिकले जेन–जी पुस्ताको प्रतिनिधि बनाएर देशको बागडोर सुम्पिएका छन् । प्रधानन्यायाधीश पदमा छँदा केही विवादबाहेक सन्तुलित भूमिका निर्वाह गरेकी उनले भ्रष्टाचारका विरुद्ध पछिल्लो समय आवाज उठाउँदै आएकी थिइन । भदौ २४ गतेको आनेलनमा ऐकेबद्धता जनाएर युवालाई साथ दिन सडकमा पुगेकी उनी युवाहरुको रोजाइमा परिन । निष्पक्ष छबि भएकै कारण उनको नाम देशको संकट मोचका लागि भएको जेनजी प्रतिनिधिहरुको छलफलमा प्राथमिकतामा पर्यो । बुधबार (२५ भदौ) साँझ जंगी अड्डामा नेपाली सेनाको प्रधानसेनापतिले समन्वयन गरेर भएको छलफलमा जेनजी पुस्ताको नेतृत्व गरेर गएकाले नाम प्रस्ताव गरेका थिए ।
त्यसपछि जेनजी पुस्ताले रुचाएका पात्र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले पनि उनलाई समर्थन गरे । उनको समर्थनविना यो असम्भव थियो । बालेनको समर्थन पछि ठूलो युवा जमातको बन्यो र विस्तारै राजनीतिक दलसँगै जन समर्थन पाउँदै कार्की नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनिन् । संयोग कस्तो भने तत्कालिन समयमा (२०७३ असार २७ गते) उनले पहिलो महिला प्रधानन्यायाधीश बनेर शपथ लिँदा इतिहास रचिएको थियो । यस्तै आज पहिलो महिला सकार प्रमुख बनेर उनले शपथ लिँदै गर्दा समेत २७ गते कै दिन जुरेको छ । यो दिन जुराउनलाई राष्ट्रपतिले ‘संविधान संरक्षण’ को सहारा लिएर संविधानको धारा ७६ को सट्टा धारा ६१ मा निहित अधिकारको प्रयोग गर्दै ऐतिहासिक निर्णय लिएका छन् । यो अभूतपूर्व राजनीतिक परिवर्तन हो ।
यो दिन कार्कीको लागि मात्र होइन नेपाल र नेपालीको लागि दुर्लभ बनेको छ । देशलाई संकटबाट निकास दिन नागरिकले उनलाई चुनेका छन्, अब देशलाई स्थायीत्व र प्रगतीको बाटोमा अघि बढाउन उनीसामु अवसर र चुनौति दुवै छन् ।
को हुन प्रथम महिला प्रधानमन्त्री कार्की ?
तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरेकी कार्कीसँग सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरेको अनुभव छ। निडर स्वभाव र सरल जीवनशैली अपनाउने उनले न्याय क्षेत्रमा आफ्नो स्वच्छ छवि बनाएकै कारण नागरिकको रोजाइमा परिन ।
नेपालको संविधान २०७२ जारी भएपछि कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश भएर करिब एक वर्ष काम गरिन् । ७३ वर्षीय कार्कीको जन्म २००९ साल जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो।२०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानुनी क्षेत्रमा उनको यात्रा अघि बढेको थियो । कार्कीले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छिन्। नवनियुक्त प्रधानमन्त्री कार्कीको न्याय र उपन्यास कारा गरी दुई पुस्तक प्रकाशित छन् ।

















प्रतिक्रिया दिनुहोस्