काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय संसद् विघटन गरेकी छन् ।
शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतल निवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्कीको अन्तरिम मन्त्रीपरिषद्मा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशिला कार्कीको निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गर्दै प्रतिनिधिसभा विघटन गरे।
राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
अब नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।
















प्रतिक्रिया दिनुहोस्