Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

उद्योग मन्त्रीसँगको भेटपछि नाडाले भन्यो–उद्योग, व्यापार र अर्थतन्त्र थप सबल भएर अघि बढ्ने आशा बढेको छ

उद्योग मन्त्रीसँगको भेटपछि नाडाले भन्यो–उद्योग, व्यापार र अर्थतन्त्र थप सबल भएर अघि बढ्ने आशा बढेको छ
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेट गरेको छ । टोलीले भेटमा नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

छलफलमा अध्यक्ष चौधरीले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि धेरैजसो शो–रुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोड भएको उल्लेख गर्दै अटो क्षेत्रका लागि ठूलो चुनौती थपिएको बताए ।

उनले मन्त्रालयले नीतिगत र संस्थागत सहयोग गरेर उद्योगलाई संरक्षण गर्नुपर्ने धारणा राख्दै नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागमा पर्याप्त परीक्षण उपकरण नहुँदा नेपालमै बनेका वस्तुहरूले समेत गुणस्तर चिन्ह पाउन नसकेको जानकारी गराए ।
यसले घरेलु उद्योगको विश्वसनीयता र बजारमा प्रतिस्पर्धात्मक क्षमता दुवैमा बाधा पुर्याइरहेको भन्दै तत्कालै परीक्षण सुविधा स्थापना गर्न चौधरीले मन्त्रीलाई आग्रह गरे ।यस्तै, उनले नेपालमा हाल करिब १६ वटा लुब्रिकेन्ट उद्योग सञ्चालनमा रहेको र केही थपिने प्रक्रियामा रहेको जानकारी दिँदै यी उद्योगहरूको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । भारतको कर प्रणालीमा हालै गरिएको फेरबदलका कारण अनधिकृत आयात बढ्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै, यसको रोकथामका लागि सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्न चौधरीले आग्रह गरेका छन् ।

‘बैठकमा अध्यक्ष चौधरीले बिबिआईएन मोटर भेहिकल एग्रीमेन्ट अन्तर्गत नेपाल, भारत, बंगलादेश र भुटानबीच सवारी साधन निर्वाध आवागमनको व्यवस्था नेपालका व्यवसायिक यातायात साधनहरूको बजारमा नकारात्मक असर पार्ने भन्दै यस विषयमा सरकारले गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै नाडाले सुझाव दिएको एजेन्सी दर्ता नियमावली अझै नआएको र उक्त नियमावली समयमै नआएमा नेपालमा सवारी साधन आयात व्यवसाय सञ्चालन गर्न कठिन हुने बताउँदै यसलाई छिटो अन्तिम रूप दिनुपर्ने धारणा राख्नुभयो’ नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै उत्पादित टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगले गुणस्तर चिन्ह पाउन निकै कठिनाइ भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रचलन अनुसार लुब्रिकेन्ट्स् आयातका लागि आयातकर्ताले अनिवार्य रूपमा एपीआई वा अन्य मान्यता प्राप्त संस्थाबाट जारी प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थाबारे सरकारलाई सचेत गराए । यस्तै उनले नेपालमा रहेका ११ वटा ब्याट्री कारखानालाई आधार बनाएर ब्याट्री रीसाइक्लिङ प्लान्ट स्थापना गर्नुपर्ने माग समेत गरेका छन्। यसैगरी, नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीले सरकार र व्यवसायी परस्पर पूरक भएको भन्दै दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए।

मन्त्री अनिलकुमार सिन्हाले सरकार व्यवसायीको सहकार्यबिना अघि बढ्न नसक्ने भन्दै उद्योग–व्यवसायलाई सबल बनाउन सरकार तयार रहेको बताए । उनले देशलाई आत्मनिर्भर बनाउन सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा ध्यान दिनुपर्ने र व्यवसायीहरूको आवाज सरकारका लागि मार्गदर्शन हुने धारणा राखे । ‘मन्त्रीज्यूले नाडाले प्रस्तुत गरेका माग र सुझावलाई सकारात्मक रूपमा लिएर चाँडै कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गर्नु भयो। साथै, आगामी ६ महिनापछि मन्त्रालयले गरेका कामहरूको व्यवसायीहरूले मूल्याङ्कन गर्नुपर्ने सुझाव पनि दिनु भयो’ नाडाले भनेको छ ‘ उहाँले सरकारले गर्नुपर्ने कामहरूलाई यथाशीघ्र अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसले नाडा मात्र नभई सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई ठूलो आत्मबल दिएको छ र सरकार–व्यवसायी सहकार्यबाट देशको उद्योग, व्यापार र अर्थतन्त्र थप सबल भएर अघि बढ्ने आशा बढाएको छ।’

मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै, व्यवसायीहरूले पनि ल्याब स्थापना गर्न सक्ने वातावरण बनाउन प्रोत्साहित गरे । भेटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit