काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भएको बताएका छन् ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रका व्यवसायीलाई छानेरै व्यवसाय र घर आगजनी गर्ने काम भएको बताए । उनले निजी क्षेत्रप्रति भैरहेको प्रहारले प्रश्न उठाएको भन्दै अब सोच्ने बेला आएको बताए ।
उनले भने, ‘व्यसायीलाई सिधै व्यक्तिगत रुपमा नै प्रहारहरु भयो । हाम्रो व्यवसायहरु जलाइए, छानि–छानि घर घरमा गएर आगजनी गर्ने काम भयो । निजी क्षेत्रप्रति जुन प्रहार भयो सारै नै नराम्रो भएको छ,’ उनले भने, ‘किन सधैँ निजी क्षेत्रप्रति प्रहार हुन्छ ? भन्ने प्रश्न उठेको छ । यसबारे हामी सबैले सोच्नुपर्छ । निजी क्षेत्रको कतै कमजोरी छ कि? त्यो कमजोरीलाई सुधार पनि गर्नुपर्छ । यस तर्फ सोच्ने बेला पनि आएको छ ।’
साथै, उनले भ्रष्टाचारको विरुद्धमा हरेक जनताको मनमा रहेको आक्रोशलाई जेनजी युवाले उजागर गरेको र त्यसले आन्दोलनको रुपमा परिवर्तन ल्याएको भन्दै प्रशंसा गरे । उनले भने, ‘जेनजी युवाहरु एउटा परिवर्तनको संम्वाहक बनेर राज्यमा एउटा नयाँ परिवर्तन ल्याएको छ । त्यो परिवर्तन वास्तविक तपाईं हामी सबैको उकुस मुकुस पनि थियो ।
वेतिथि, विसंगति पनि थियो,’ उनले थपे, ‘सबैलाई सुशासन छैन, भ्रष्टाचार व्याप्त भन्ने कुरा सबैको मनमा लुकेर बसेको थियो । जेनजी भाई बहिनीहरुले त्यसलाई उजागर गरेर एउटा आन्दोलनको रुपमा परिवर्तन ल्याएको छ । त्यसकारण ती भाई बहिनीहरुलाई हामीले नमन गर्नुपर्ने हुन्छ ।’
साथै, फागुन २१ मा तोकिएको निर्वाचन समयमै सम्पन्न गर्नको लागि सहज वातावरण बनाउनको लागि निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अर्को कुरा निर्वाचन गर्ने भनेको छ । निर्वाचन समयमा नै हुनुपर्छ भन्ने कुरा हामीले राख्नुपर्छ भन्दा पनि निर्वाचन समयमा नै होस् भन्ने किसिमले वातावरण बनाउनको लागि हामीले पनि भूमिका खेल्नुपर्छ ।’







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्