काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जेनजी प्रर्दशनपछि आफू देश छोडेर भागेको नभई उपचारार्थ भारतमा गएको प्रस्ट्याएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का देश छाडेर भागेको अभिव्यक्ति दिएपछि आज सार्वजनिक भएका खड्का स्वदेशमै रहेको पाइएको हो ।
गृहमन्त्री अर्यालले केही दिन अघिमात्र एक राष्ट्रिय दैनिकमा खड्काले देश छोडेर भागेको बताएका थिए । तर सोमबार खड्काले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेको घरमा पत्रकार सम्मेलन गरी केही सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा भ्रामक सूचना सम्प्रेषण गरेको बताए । उनले आफू देशमै रहेको उल्लेख गर्दै भने, ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ?’ खड्काले थपे, ‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौँको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर, म किन देश छोडेर भाग्छु?’ उनले प्रश्न गरे ।
यस्तै उनले समाजप्रति उत्तरदायी भएर तथ्य प्रकाशन ÷ प्रसारण गर्ने सञ्चारमाध्यमले गलत भ्रम फैलाएको टिप्पणी गरे । ‘केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो,’ उनले भने, ‘ म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।’
पूर्वमन्त्री खड्काको घरमा जेनजी प्रर्दशनकारीले भदौ २४ गते आगजनी गरेपछि पूर्णरूपमा जलेको थियो । उनको घरमा आगजनी भैरहँदा पैसा उड्दै गरेको भिडियो बाहिरिएको थियो । जेनजी प्रर्दशनपछि सेनाको सुरक्षामा बसेको बताएका उनले प्रर्दशनपछिको क्षतिप्रति दुःख व्यक्त गरे । उनले भने, ‘यो सबै अचम्मलाग्दो र दुखदायी कुरा हो,’ उनले भने, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।’
खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको आरोप लगाए । यस्तै खडकाले सरकारसँग आफू नडराउने बताए । ‘झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’















प्रतिक्रिया दिनुहोस्