भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइकी छिन् । देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउने उनको भनाइ छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्न जिम्मेवारी पाएको विदितै छ । सरकारसँग नेपालको संविधानअनुसार जेनजीको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व छ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’
गत भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको बताइन् । उनले विद्रोहपछिको राजनीतिक अवस्थालाई सामान्यीकरण गर्दै सबै पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै परिवर्तनका वाहक जेनजी समुदायसँग पनि सम्पर्कमा रहेको बताइन् । ‘निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन,’ प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्, ‘संविधानको अधीनमा रही हामीले जेनजी आन्दोलनले उठाएका सुशासनसम्बन्धी आवाजलाई सम्बोधन गर्नुपर्छ भन्ने दायित्व बुझेका छौँ । त्यसअनुरूप राज्य संयन्त्रहरुबाट ठोस परिणाम दिने गरी काम अघि बढिरहेको छ ।’
समाजको सबै पक्षको सक्रिय सहभागिताबिना लोकतन्त्र सफल नहुने धारणा व्यक्त गर्दै उनले समाजमा सद्भाव, एकता र सचेत नागरिकताको विकासमार्फत लोकतन्त्रको रक्षा तथा भ्रष्टाचार नियन्त्रण गर्न सबैलाई आह्वान गरिन् । यस्तै, नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरिन् । सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस संवत्को संवद्र्धन, प्रवद्र्धन र व्यावहारिक रुपमा लागू गर्न तत्पर रहेको स्पष्ट भएको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा नेपाल संवत्को प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै यसको अनुगमनका लागि प्रतिष्ठानसँग सहकार्य गर्नेसमेत धारणा राखिन् ।

शङ्खधर साख्वाःको समाज र देशप्रतिको अतुलनीय योगदान तथा सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप ९३६ सालमा थालनी भएको नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट नभई व्यापारीको त्याग र परोपकारको आधारमा लोकस्तरबाट उत्पत्ति भएको भएकाले यो उच्च महत्व र लोककल्याणको विरासत बोकेको संवत् भएको चर्चा गरिन् । नेपाली समाजमा गरिबी र असमानताको अन्त्य गर्दै जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वाःले देखाएर सोही मार्गमा लाग्नु आवश्यक रहेको औँल्याउँदै प्रधानमन्त्री कार्कीले शङ्खधर साख्वाःले जस्तै व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुने उल्लेख गरिन् । कार्यक्रममा उनले साख्वाःको शालिकमा माल्र्यापण गर्नुका साथै प्रतिष्ठानद्वारा प्रकाशित बुलेटिन विमोचन गरेकी छिन् । उनले संस्कृतिविद् छत्रबहादुर कायस्थ र नेपाः पासा पुचः अमेरिकालाई शङ्खधर सिरपाद्वारा सम्मान गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रतिष्ठानका पूर्वअध्यक्षहरु श्यामकृष्ण मानन्धर, मदनकष्ण श्रेष्ठलगायतले शङ्खधर साख्वाःबारे खोज तथा अनुसन्धानलाई अझै तीव्र बनाउँदै नेपाल संवत्लाई सम्पूर्ण रुपमा व्यवहारमा ल्याउनु पर्ने बताए ।















प्रतिक्रिया दिनुहोस्