काठमाडौं। सौर्य ऊर्जा क्षेत्रमा सक्रिय ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ।
कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउने उद्देश्यले बुधबार नेश्नल क्यापिटल नेपाललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो।
सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले झापा जिल्लाको बैगुनधुरामा निर्माण भइरहेको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार आयोजना सञ्चालनमा आउने समयमै आईपीओ जारी गर्ने लक्ष्यसहित निष्कासन व्यवस्थापकसँग सम्झौता गरिएको हो।

‘बैगुनधुरा, झापामा निर्माण भएको ५ मेगावाट क्षमताको सौर्य परियोजनाको निर्माण करिब सम्पन्न भइसकेको छ। आयोजना सञ्चालनमा आउने समयमै आईपीओ जारी गर्ने लक्ष्यका साथ आज नेश्नल क्यापिटलसँग सम्झौता गरेका हौँ,’ उनले भने।
कम्पनीले पब्लिक लिमिटेडमा रूपान्तरण हुने प्रक्रिया अघि बढाइरहेको र आईपीओमार्फत सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरेको जनाएको छ। सम्झौताबारे जानकारी दिँदै नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईस्ट सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए।

नेश्नल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर भएको उल्लेख गर्दै पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापन संस्थाको प्रमुख सेवामध्ये एक रहेको उनको भनाइ छ।
खनालले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने सरकारी लक्ष्य हासिल गर्न निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अपरिहार्य रहेको धारणा राखे। उनका अनुसार अधिकांश वित्तीय स्रोत अझै बैंकिङ प्रणालीमै केन्द्रित रहेकाले कम्पनीहरूले बैंक ऋणमा मात्र निर्भर नभई पुँजी बजारमार्फत दीर्घकालीन लगानी जुटाउने अभ्यासलाई विस्तार गर्न आवश्यक छ।
उनले उद्यमी तथा कम्पनीहरूलाई शेयर बजारमार्फत पूँजी संकलन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै ईस्ट सोलारसँग भएको सम्झौताले ऊर्जा क्षेत्रमा निजी लगानी विस्तार र पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।















प्रतिक्रिया दिनुहोस्