काठमाडौं । ‘जेनजी २.०’ संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटेर भदौ २३ र २४ गतेको घटनामा संलग्नलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन् । उनिहरुले आफूहरु सरकारलाई आवश्यक परे पर्खाल बनेर जस्तासुकै सहयोग गर्न तयार रहेको तर, दोषीमाथि कारबाही हुनैपर्ने माग गरेका हुन् ।
आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताए । यस्तै उनले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई पक्रा उगर्न माग गरेको जानकारी दिए ।
उनले भने, ‘गृहमन्त्रीसँग हामीले भदौ २३ गते नआई २४ गते आउँदैन, २३ गते जुन घटना घट्यो त्यो घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्छ भनेका छौं । अर्को कुरा २४ गते जुन उद्दण्ड मच्चियो त्यसमा २३ गतेको घटनाको ठुलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गतेलाई नछोड्नुहोस् भन्यौं।’
प्रवक्ता लिम्बुले युवाहरु सरकारको पर्खाल रहेको बताउँदै सरकारलाई चाहिने सहयोग गर्ने पछि नहट्ने धारणा राखे । ‘हामी सरकारको पर्खाल हौं । सरकारलाई चाहिने सबै कुराको सहयोग गर्न हामी तयार छौं,’ उनले भने । यस्तै जेनजी २.० संगठनका केन्द्रिय सचिव कुन्दन कुशवाहले सरकारले जेनजी आन्दोलनको भावना अनुसार काम नगरेको टिप्पणी गर्दै जेनजी युवाहरुप्रति सरकारले गलत व्यवहार गरेको आरोप लगाए । उनले भने, ‘ जेनजीको रगतले बनेको नागरिक सरकारले सहिद र घाइते परिवार र आन्दोलनको म्यान्डेट अनुसार काम गर्नुपर्ने हो, तर अहिले गृहमन्त्री ज्यूले जुन प्रकारले काम गरिरहनु भएको छ यो सरासर गलत हो ।’
यस्तै, उनले राजनीतिक दलहरुबाट आफूहरुलाई असुरक्षा भएको बताए । ‘पुराना राजनीतिक दलहरुले हामीलाई टार्गेटमा राखेको छ । हामीलाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको छ । हामी शान्ति, सुरक्षा चाहान्छौं । अहिलेको नागरिक सरकारलाई हामी सघाउन पनि चाहान्छौ,’ उनले भने ।

















प्रतिक्रिया दिनुहोस्