काठमाडौं । सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
आयोजना निर्माण विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा गरिने छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै आयोजनाको वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।
मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएको हो। आयोजनाको प्रवर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।
यसअघि नै विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता भइसकेको छ। कुमारी बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंकले ऋण लगानी गर्दैछन् । नारखोला जलविद्युत् आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत् उत्पादन हुनेछ। आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ ।
आयोजनाको बाँध तथा हेडवर्क्सका संरचनाहरू नार्पा भुमी गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत् गृहमा नार्पा भूमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्गमार्फत पेनस्टक पाइपको प्रयोग गरी विद्युत् गृहमा पानी पठाई बिजुली उत्पादन गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेशनमा जोडिने छ ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रूपैयाँ रहने बताइएको छ। जसमा बैंकहरूको कर्जा ९ अर्ब ६३ करोड रूपैयाँ र स्वपुँजी ३ अर्ब २१ करोड रूपैयाँ रहेको छ। स्वपुँजीमा सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।
आयोजनाले ३ वर्षभित्र विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य लिएको बताइएको छ।















प्रतिक्रिया दिनुहोस्