काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन प्राधिकरण सकारात्मक रहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २६औँ साधारण सभा तथा आठौँ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कामु कार्यकारी निर्देशक श्रेष्ठले उक्त धारणा राखेका हुन्। देशको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै उनले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको स्पष्ट पारे।
‘ऊर्जा उत्पादनमा निजी क्षेत्रले पुर्याएको योगदान एकदमै सराहनीय छ। प्राइभेट सेक्टरलाई पावर ट्रेडिङ (विद्युत व्यापार) र प्रसारण लाइन निर्माणमा प्रवेश गराउनु पर्नेमा म स्पष्ट छु। मैले माननीय ऊर्जा मन्त्रीज्यूलाई पनि निजी क्षेत्रलाई यसमा प्रवेश गराउनु पर्छ भन्दै आएको छु,’ श्रेष्ठले भने।
श्रेष्ठले नेपाल सरकारले राखेको १५ हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहने उल्लेख गरे।
जलविद्युत आयोजना र ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्रले हाल वन क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यावहारिक समस्याका कारण ढिलाइ बेहोर्नुपरेको र काम अल्झिएको तर्फ उनले उर्जामन्त्रीको ध्यानाकर्षण समेत गराए। वन क्षेत्रका यस्ता समस्याहरूलाई तत्काल समाधान गर्न र निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको हौसला बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए।

















प्रतिक्रिया दिनुहोस्