काठमाडाैं । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाल -भरत इनर्जी समिटमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
समिटमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्याउने महत्वकांक्षी लक्ष्य लिएको जानकारी दिए। उक्त लक्ष्य प्राप्त गर्नका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेको हुँदा हाल नेपालमा लगानीको सुनौलो अवसर रहेको उनले बताए।
२०५७ देखि विद्युत उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले हालसम्म कुल जडित क्षमता ३५०० मेगावाट पुर्याएको छ, जसमा निजी क्षेत्रको ८० प्रतिशत (करिब २८०० मेगावाट) योगदान रहेको कार्कीले जानकारी गराए। हाल नेपाल र भारतबीच १००० मेगावाट विद्युत आदान प्रदान भइरहेको छ, जुन आगामी १० वर्षभित्र १० हजार मेगावाट पुर्याउने दीर्घकालिन सम्झौता भइसकेको छ।
भारतीय कम्पनीहरूको लगानीमा हाल नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेका छन् भने थप हजारौं मेगावाट बराबरका आयोजनाले भारतीय लगानीको पर्खाइमा रहेको कार्कीले बताए। प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेको हुँदा यस क्षेत्रमा समेत लगानी गर्न सकिने उनले उल्लेख गरे।
नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपीसी जस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी दिँदै कार्कीले नेपालको जलविद्युत सम्भावनालाई वास्तविकतामा परिणत गर्दै देशलाई क्षेत्रीय ऊर्जाको प्रमुख आपूर्तिकर्ता बनाउन सकिने बताए।
इप्पानका उपाध्यक्ष आनन्द चौधरीले प्रस्तुतीकरण दिँदै नेपालमा ३५०० मेगावाट विद्युत उत्पादन भइरहेकोमा ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन रहेको जानकारी गराए। त्यस्तै, ४१०० मेगावाट क्षमताका आयोजनाहरू विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेको उनले बताए। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले विभिन्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। हाल नेपाल र भारतबीच ४०० केभी प्रसारणलाइन सञ्चालनमा रहेको र थप दुईवटा प्रसारणलाइन निर्माणाधीन रहेको हुँदा पर्याप्त पूर्वाधार उपलब्ध रहेको उनले बताए।
नेपालको जलविद्युत नीति लगानीकर्ताहरूको संरक्षणका लागि उपयुक्त रहेको उल्लेख गर्दै चटौतले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे। जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी नाराका साथ नेपाली राजदूतावास, भारतको आयोजना तथा इप्पानको संस्थागत सहभागितामा नेपाल(भारत इनर्जी समिट सम्पन्न भएको छ।















प्रतिक्रिया दिनुहोस्